काठमाडौं – सेराज अहमद पाकिस्तानको कराँचीमा १० कक्षामा पढ्थे। फाइनल परीक्षाको तयारीमा थिए तर, सन् २०१३ को एक साँझ अचानक सेराजका बुबा नासिर अहमदले पूरै परिवारका लागि पाकिस्तान एयरलाइन्सको नेपाल जाने टिकट लिएर आए।
सेराजको ८ जनाको परिवार नेपाल आइपुग्यो। सेराजको १० कक्षाको अन्तिम परीक्षा छुट्यो। त्यससँगै साथीभाइ, परिवार, आफन्तजन छुटे। देशसँगै भाषा पनि छुट्यो।
त्यसपछि सेराजको परिवार अहिलेसम्म पाकिस्तान फर्किएको छैन। उनीहरूसँग अहिले पनि पाकिस्तानको पासपोर्ट छ तर, पाकिस्तान फर्किन सक्दैनन्। किनभने सन् २०१३ मा सेराज र उनको परिवारले सदाका लागि पाकिस्तान छाडेको थियो। उनीहरू शरण खोज्दै नेपालसम्म आइपुगेका हुन्।
सेराजको परिवार मुस्लिम समुदायभित्रको अल्पसंख्यक मानिने अहमदी समुदायको हो। सन् १९७४ मा जुल्फीकर अली भुट्टो नेतृत्वको पाकिस्तानी सरकारले संविधानबाटै अहमदी समुदायलाई गैरमुस्लिम घोषित गरेपछि पाकिस्तानमा अहमदी समुदायका मानिसमाथि अत्याचार सुरु भयो।
अहमदियालाई गैरमुस्लिम घोषित गरिएकै वर्ष पाकिस्तानमा ३२ जना अहमदिया समुदायका मानिसको हत्या भयो। हत्या, महिलामाथि बलात्कार र सम्पत्ति कब्जा हुन थालेपछि पाकिस्तानी अहमदी समुदायका मानिस शरण खोज्दै विभिन्न देश गए।
यसरी शरण खोज्दै २७ भन्दा बढी अहमदी परिवारका मानिस नेपाल आइपुगे। रमजानको पवित्र महिना चलिरहेको छ तर, ६५ वर्षीय नासिर अहमदलाई भने यसपटक अल्लाह रिसाएका हुन् कि जस्तो लागिरहेको छ।
रमजान मनाउन नसकेको–नपाएको पीडासँगै खाद्यान्नको अभाव खेपिरहेका छन्। शरणार्थीहरू त्यसै पनि सधैँ आर्थिक संकटमा हुन्थे। त्यसमाथि लकडाउन भएपछि त उनीहरू भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन्। ‘४० दिनदेखि घरमा बन्द छौँ। के खानु, के लाउनु,’ नेपाली प्रस्ट बोल्न नसक्ने नासिर हिन्दी भाषामा भन्छन्। उनको बोलीमा वेला–वेला उर्दू शब्द पनि मिसिन्छन्।
भोकभन्दा ठूलो पीडा हो आफ्नो पहिचान नहुनु। मुलुक नहुनु। नागरिक नहुनु। सबैभन्दा ठूलो असुरक्षा र अनिश्चितता हो अनागरिक हुनु। त्यसैले त नासिर हरेक कुरामा नोस्टाल्जिक हुन्छन्। ‘उनीहरूले हामीलाई नन मुस्लिम भने। हामीमाथि पाबन्दी लगाइयो,’ नासिर सुनाउँछन्, ‘नमाज पढ्न बन्देज गरियो। मस्जिद जान बन्देज लगाइयो।’
पाकिस्तान मात्र होइन साउदी अरेबियाले पनि अहमदिया मुस्लिमलाई गैरमुस्लिम करार गर्दै हजयात्रामा प्रतिबन्ध लगाएको छ। अहमदीलाई मुस्लिमभित्रको सुन्नी समुदायकै अंग मानिन्छ।
धर्मको यो कहरबाट जोगिन नेपाल आइपुगेका सेराज (अ)नागरिक भएकै कारण जागिर पाउँदैनन्। उनी डराइडराई बोल्छन्। कतै केही गलत पो भइहाल्ने हो कि ! कतै यहाँबाट पनि निकाला गर्ने हुन् कि भन्ने चिन्ताले उनलाई सधैँ पिरोलिरहन्छ।
सेराजले केएफसी, कल सेन्टर, फर्निचर शोरुममा जागिर गर्न खोजे। ‘यहाँको नागरिक होइनौ भन्दै जागिर दिएनन्,’ टुटेफुटेको नेपालीमा सेराज शरणार्थी हुनुको पीडा सुनाउँछन्।
शरणार्थी हुनुको अप्ठ्यारो यतिमै कहाँ सकिन्छ र ! दुई वर्षअघि नासिरकी आमा र बुबाको पाकिस्तानमा मृत्यु भयो। सेराजका दुई भतिजाको मृत्यु भयो। फोनमै उनीहरूले आफन्तको मृत्युको खबर सुने। फोनमै उनीहरूले आँसु बगाए।
आफ्नी अम्मी र अब्बुजानको अन्तिम संस्कारमा सामेल हुन नपाएका नासिर अल्लाह पुकार्दै भन्छन्, ‘यस्तो पनि जीवन हुन्छ भनेर सोचेकै थिएनौँ। दुःख परेको वेला। संकटमा परेको समयमा यी शरणार्थी आफ्नो मुलुक सम्झिन्छन्। ‘कहिलेकाहीँ आमा, श्रीमती, भाउजू देश सम्झेर रुन्छन्,’ सेराज भन्छन्। उनी आमा, भाउजू रोएको चुपचाप हेरिबस्छन्।
रोइरहेकी आमा, भाउजूलाई सम्झाउन पनि सक्दैनन्, बरु उनीहरूले नदेख्ने गरी सेराज पनि आँसु बगाउन थाल्छन्। ‘उनीहरू रोएको देखेर हामी पनि चुपचाप हेर्छौं, आफ्नो मन दुखाउनेबाहेक केही गर्न सक्दैनौँ,’ सेराज भन्छन्।
ज्यान जोगाउन पाकिस्तान छोडेर आएका अधिकांश शरणार्थीको परिवार साथमा छैन। शरण खोज्दै जाँदा परिवार छिन्नभिन्न भयो। ६० वर्षका रसिद अहमद अहिले दुई छोरा र श्रीमतीसँग नेपालमा शरण लागेका छन् तर, उनका दुईजना छोरी भने मलेसियामा छन्। उनीहरू पनि मलेसियामा शरणार्थी भएर गएका हुन्।
रसिदका बुबा, भाइ पाकिस्तानमै छन्। ‘पूरा परिवार बिखरगया,’ बुढ्यौलीले छोपिसकेका रसिद मलिन स्वरमा भन्छन्, ‘पिताजी र भाइसँग फोनमा बात हुन्छ।’ उता बस्नेलाई पनि सजिलो नभएको सुनाउँछन् रसिद। रसिद भन्छन्, ‘मेरो भाइ हरेक महिना नयाँ–नयाँ सहरमा बस्न जान्छ। एउटै सहरमा लामो समय बस्न सक्दैन।
५३ वर्षे निसार अहमदको कराँचीमा घर, जमिन थियो। गाडी थियो। टेक्सटाइल कम्पनीमा जागिर थियो। ती सबै छाडेर निसार अहिले यहाँ भाडाको कोठामा बसेका छन्। तिब्बती, भुटानी र रोहिंग्या शरणार्थी जसरी पाकिस्तानी शरणार्थी क्याम्पमा बसेका छैनन्।
पाकिस्तानी शरणार्थीहरू कपन र गल्फुटार क्षेत्रमा फ्ल्याट भाडामा लिएर बसेका छन्। एउटा फ्ल्याटको १५ हजार रुपैयाँसम्म भाडा तिर्छन्। क्याम्पमा बस्नलाई उनीहरूको संख्या धेरै छैन। उनीहरूलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन।
उनीहरू शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको पत्रको आधारमा बसिरहेका छन्। लकडाउनले मजदुरी गर्न नपाएका यी शरणार्थीलाई अब कोठाभाडा तिर्ने समस्याले पिरोलेको छ। निसार भन्छन्, ‘अहिले हाम्रो शरमा (टाउकोमा) दुई महिनाको रेन्ट छ, लकडाउन बढ्दै गएको छ। पैसा तिर्न सकेन भने त हामीलाई घरबाट निकाल्छन्।
कसैगरी यी शरणार्थीले भाडा तिर्न सकेनन् भने सडकमा आउनेछन्। निसारका तीनजना छोराले मजदुरी गरेर कमाउँथे तर, लकडाउनले उनीहरूले पाउने काम रोक्यो। रसिद भन्छन्, ‘हामीलाई त अरू कसैले गर्न नसक्ने काम गर्न बोलाउँछन्।
सेराज घरमा मार्बल बोक्ने काम गर्थे। अग्लो घरमा मार्बल बोक्दा सुन्निएको खुट्टा देखाउँदै उनी भन्छन्, ‘हार्ड वर्क गरेर यो खुट्टा सुन्नियो। यस्तै परिश्रमको काम गरेर सेराजका दाइको खुट्टाको अप्रेसन नै गर्नुपर्यो।
अधिकांश शरणार्थी निर्माण मजदुरको काम गर्छन्। जहाँ न ज्याला सुरक्षित न ज्यान। ‘काम पनि चाहिएको वेला पाइँदैन। काम पाइयो ज्याला समयमा पाइँदैन,’ निसार भन्छन्।
लकडाउनमा खानाको समस्यासँगै घरभाडाले पिरोलेका यी शरणार्थीलाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको नेपालस्थित कार्यालयले प्रतिव्यक्ति तीन हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो।
यो पैसा त खाद्यान्नको जोहो गर्नमै ठिक्क भयो। पाकिस्तानी शरणार्थीका पहिलो पुस्ताका नासिर, निसार र रसिदलाई अब आफ्नो जीवनमा खुसियाली फर्केला भन्ने आस छैन तर, छोराछोरीको जीवन भने यसरी शरणार्थी भएर नबिते हुन्थ्यो भन्ने कामना गर्छन उनीहरू।
‘ना हम इस देश के ना किसि और देश के,’ आफ्नो छोरा सेराजतर्फ हेर्दै नासिर भन्छन्, ‘लेकिन हमारे बच्चौं के साथ य नाइन्साफी ना हो।’
पाकिस्तानमा अहिले २५ लाख जति अहमदिया मुस्लिम छन्। मुस्लिम समुदायभित्र अल्पसंख्यक मानिने अहमदिया पाकिस्तानबाहेक इन्डोनेसिया, अल्जेरियामा पनि छन्।
मिर्जा गुलाम अहमद (१८३५–१९०८)का अनुयायी अहमदियामाथि सन् २०१६ यता भने पाकिस्तान सरकार थोरै नरम देखिन थालेको छ। पाठ्यपुस्तकबाट समेत नाम हटाइसकिएका नोबेल पुरस्कार विजेता अहमदी अब्दुस सलामको नाममा सन् २०१६ मा पाकिस्तानमा एक विश्वविद्यालय खोल्ने अनुमति दिइएको छ।
उनको चिहानमा समेत मुस्लिम लेख्ने अनुमति दिइएको छ। यस अगाडि उनको चिहानमा लेखिएको मुस्लिम मेटाइएको थियो। सलामले सन् १९७९ मा भौतिक विज्ञानतर्फबाट पुरस्कार जितेका थिए। – नयाँपत्रीकाबाट