News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्थानीय जनप्रतिनिधिको दाबीः वामपन्थीको भन्दा कांग्रेसको कर सस्तो

    ८०८ पटक

    ११ भदौ, काठमाडौं – स्थानीय तहहरुले लगाएको करको विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई काठमाडौंमा बोलाएर छलफल गर्‍यो । कुन सरकारले कुन शीर्षकमा कर लिन सक्छन् भन्ने जानकारी दिन आयोजित कार्यक्रममा अधिकांश स्थानीय तहका प्रमुखले आफूहरुले सरकार सञ्चालनको अभ्यास प्रभावकारी ढङ्गले गर्न नपाएको गुनासो गरेका छन् ।

    करबारे के भन्छन् स्थानीय जनप्रतिनिधि ? कांग्रेसको छलफलमा भेटिएका केही जनप्रतिनिधिको आवाज :

    नरेन्द्र गुप्ता, मेयर
    रामग्राम नगरपालिका, नवलपरासी

    हामी संघीयताको अभ्यासको सुरुवातमा छौँ । नयाँ व्यवस्था भएकाले काम गर्दा केहि अप्ठ्यारा र तलमाथि भएका हुन सक्छन् । तर, हाम्रो नगरपालिकाले दोहोरो कर लिएको छैन । संविधान र संघीय कानुनअनुसार नै कर लिने निर्णय भएको छ । त्यहि अनुसार कर लिन थालेका छौं ।

    हाम्रो ध्यान कसरी धेरै कर लिने भन्दा कसरी करको दायर फराकिलो बनाउने र कर लिने वातावारण बनाउन विकासका पूर्वाधारहरु बढाउने भन्नेतिर छ । अहिले जसरी जे गर्दा पनि कर लाग्ने भो भनेर आएको छ, हामी कहाँ त्यस्तो छैन । हाम्रो छिमेकी नगरपालिकाहरुमा वामपन्थीले जितेका छन् । त्यहाँ हाम्रोभन्दा बढी कर छ । तर, हामीले गरेको विषय आउँदैन । स्थानीय तहले मनलाग्दी कर लियो भनेर सबैलाई एउटै डालामो राखेर हेर्दा ठीक भएन जस्तो लाग्छ ।

    विष्णु कुमारी कँडेल, मेयर
    गैडाकोट नगरपालिका, नवलपुर

    कुन तहले कुनकुन शीर्षकमा कर लिन पाउने भन्ने व्यवस्था त संविधानले गरेको छ । तर, त्यसबारे प्रयाप्त जानकारी हामीलाई दिइएको छैन । न पार्टीले यसबारे कुनै प्रकारको छलफल चलायो न सरकारले नै । निर्वाचन भएको यत्तिका समय भइसक्यो, बल्ल पार्टीले प्रशिक्षण राखेर केही विषयमा हामीलाई प्रष्ट पार्ने कोसिस गर्‍यो । यो सर्‍हाननीय नै छ । तर, यो पनि मिडिया र सामाजिक सञ्जालबाट ब्यापक विरोध भएपछि मात्र । यस्तो खालको कार्यक्रम प्रदेश स्तरमै सुरुमै भएको भए विरोध सुन्नु पर्ने अवस्था आउने थिएन । भलै, कांग्रेसले जितेका नगरपालिकाले वामपन्थीले जितेका ठाउँमा जस्तो कर बढी लिएका छैनन् । जहाँसम्म हाम्रो नगरपालिकाको कुरा छ, हामीले कर नभएर करको दायरा फराकिलो बनाएका छौं । यसअघि लिइँदै आएको करमा खासै बृद्धि भएको छैन तर, करको दायरा भने बढेको छ ।

    कल्पना तिवारी, उप-मेयर
    वालिङ नगरपालिका, स्याङ्जा

    पहिलोपटक अभ्यास भइरहेको संघीयता कार्यान्वयनमा अप्ठ्यारा देखियो भन्दैमा यो व्यवस्था नै ठीक भएन भनेर जसरी प्रचार भइरहेको छ, त्यो मलाई पटक्कै मन परेको छैन । स्थानीय तहले प्राकृतिक कर लिन पाउने भनिएको छ । त्यो पनि सामाजिक न्यायको सिद्धान्तलाई पनि ख्याल गर्नुपर्ने संविधानको मर्म हो । हामीले संविधान भन्दा बाहिर गएर कुनै प्रकारका कर लिएका छैनौं र अरुलाई पनि नलिन आग्रह गछौं ।

    कर नै मुख्य स्रोत हो भन्ने बुझाइले पनि समस्या भएको छ । बडा आश्चर्य लाग्ने के छ भने वामपन्थीहरुले जितेका ठाउँमा संघीय सरकारले धेरै बजेट दिएको छ । तिनै स्थानीय तहले जता पनि कर लिन थालेको आइरहेका छन् । कांग्रेसले जितेका ठाउँमा संघीय सरकारले बजेट पनि कम दिने र कर पनि नबढ्ने अवस्था देखियो । यसको जनताले मूल्याङ्कन गर्नेछन् भन्ने हाम्रो विश्वास छ । हाम्रो नगरपालिकाले त ढुङ्गा गिट्टी, वालुवाको निकासीमा कर लिन मिल्छ कि मिल्दैन भनेर माथि (प्रदेश, संघीय सरकार वा विज्ञ) लाई सोधेका छौं । अहिलेस्म्म निकासीमा कर लिएका छैनौं ।

    दिया बोहोरा, उप-मेयर
    आठबीसकोट नगरपालिका, दैलेख

    गाउँगाउँमा सिंहदरबार भनेर संघीयतालाई अथ्र्याइयो । अहिले खासमा गाउँगाउँमा सिंहदरबार होइन, सिंहदरबारको भ्रष्टाचार चाँहि गएको हो कि भन्ने भान जनताले गर्न थालेका छन् भन्ने प्रचार हुनु आफैंमा दुःखद हो । म आफैं जनप्रतिनिधि हुँ तर, मेरै नगरप्रमुखले ८ लाखमा सम्पन्न भएको योजनाका लागि २२ लाख खर्च भएको देखाएर फछ्र्यौट गर्न खोेजेका थिए । हामीले रोक्यौं । पार्टीमा भन्यौं, मिडियामा भन्यौं र वकिलको पनि सहयोग लिएर यो विषयलाई हामीले सल्ट्याउन खोजेका छौं । कर लिने विषय पनि त्यहि हो । मनलाग्दी कर लिएपछि कमिसन लिन पाइने अभिलासाले काम गरेको हो कि जस्तो लाग्छ । सबैले त्यसो गरे भन्ने चाहिँ होइन ।

    पार्वती शाह ठकुरी, उप-मेयर
    भरतपुर महानगरपालिका, चितवन

    स्थानीय शासन सञ्चालन ऐनअनुसार राजश्व परामर्श तथा अनुगमनको नेतृत्व उपप्रमुखले लिने भन्ने व्यवस्था हो । हामीले पनि स्थानीय राजनीनितिक दल, अन्य सरोकारवालाहरु र विज्ञ राखेर कर निर्धारणबारे निर्णय लिएका छौं । अहिलेसम्म विवाद आएको छैन ।

    उपेन्द्र थापा, मेयर
    पञ्चपूरी नगरपालिका, सुर्खेत

    अहिले कर लिने विषयमा स्थानीय र प्रदेश सरकारबीच विवाद छ । यो विवाद संघीय सरकारका कारण आएको हो । अहिलेसम्म वित्त आयोग गठन भएको छैन । स्थानीय तहले संविधान अनुसार भन्दै आफ्नै तरिकाले कर लिएका छन् । हामीले त्यो गरेका छैनौं । हामीले पुरानै दरमा कर लिएका छौं । संविधानअनुसार कर लिने शीर्षक थपिएका छन् ।

    दोष अरुलाई दिने र आफू चोखो भएर पन्छिने प्रवृति हामीमा पनि छ । कांग्रेसले वित्त आयोग किन गठन भएन भनेर केन्द्रमा दवाव दिन सक्छ नि ? कांग्रेसले वित्त आयोग गठन नभई बजेटलगायतका विषयमा अगाडि बढ्न दिँदैनौं भन्नसक्थ्यो नि । तर, हामीले पनि भनेनौं ।

    जमुनादेवी गौतम, उप-मेयर
    इनरुवा नगरपालिका, सुनसरी

    म आफैं राजश्व परामर्श अनुगमन समितिको नेतृत्वमा छु । हामीले कर निर्धारण गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्छ भनेर सर्वपक्षीय छलफल गर्‍यौं । कर वैज्ञानिक रुपमा कर कसरी उठाउने ? कुन तरिकाले कर लिँदा उचित हुन्छ ? भनेर छलफल गर्‍यौं । तर, निर्णय हुँदा बहुमतका आधारमा हुन्छ । ठीक भए पनि नभएपनि बहुमतले निर्णय हुने भएपछि जिम्मेवारी पाएर मात्रै प्रभावकारी काम गर्न गाह्रो हुने रहेछ । मलाई के लाग्छ भने निर्णय भइसकेको सन्दर्भमा पनि बजेट तथा करबारे पुनर्विचार हुन्छ कि हुँदैन ? यसबारे म आफैं अनविज्ञ छु । विज्ञहरुसँग सोधिरहेकी छु ।

    गीता सत्याल, उपमेयर
    ललितपुर महानगरपालिका

    स्थानीय तहले बाहाल कर लिने भनेर संविधानमा प्रष्ट व्यवस्था छ । प्रकृतिक कर स्थानीय तहले र अप्रकृतिक कर प्रदेश सरकारले लिने भनिएको छ । अब प्रकृतिक कर स्थानीय तहले लिन पाउने कि नपाउने ? मेरो प्रश्न छ । घरबहाल कर प्रकृतिक कि अप्राकृति ? संविधानले दिएको अधिकार बमोजिम स्थानीय तहले घरबहाल कर पुरै लिन पाउनुपर्छ भन्ने मेरो भनाइ हो । अरु हाम्रो महानगरले कर निर्धारण गरेको विषय सबैलाई जानकारी नै छ । हामीले पहिले भन्दा कुनै दृष्टिले कर बढाएका छैनौं । यसपटक मात्र कर छुट दिने विषय हटेको छ । नभए पुरानैले निरन्तरता पाएका छन् ।

    सुशीला मिश्र भट्ट, उप-मेयर
    धनगढी उपमहानगरपालिका, कैलाली

    म सबैभन्दा पहिले करबारे अहिले जति पनि टिप्पणी आएका छन्, त्यसबारे यथार्थ के हो जानकारी गराउनका लागि प्रदेशस्तरमा प्रशिक्षण लैजान पार्टी र सरकारसँग माग गर्छु । अहिले जतिपनि समस्या आएका छन्, सम्बन्धित विषयमा आवश्यक जानकारी नभएर हो भन्ने मलाई लाग्छ ।

    अब विज्ञहरुसँग सल्लाह लियो भने पनि थरीथरीका सुझाव आउँछन् । उदाहरणका लागि कसैले व्यावसाय सुरु गर्दा नै कर लिन नहुने सुझाउँछन् । व्यावसाय जन्मिदै कर लिएपछि लगानीको वातावरण नबन्ने वा लगानीकर्ता उत्साहित नहुने तर्क गर्छन् । अर्काथरी व्यवसाय कर लिनुपर्ने सुझाउँछन् । कसको कुरा पत्याउने ? हामीले भने व्यावसाय सुरु गर्दा कर लिइरहेका छौं । अन्य विषयमा पुरानैलाई निरन्तरता दिइएको छ । चटपटेमा कर, साइकलमा कर, मृत्यु दर्तामा कर भन्ने कुरा सुनिन्छन् । तर, हामीले त्यसो गरेका छैनौं । (

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २७, २०८२ (मे १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्वराजालाई जरिवाना : राजावादी समर्थकले संकलन गरे रकम, तर महानगरसँग चर्कियो असहमति

    काठमाडौं, वैशाख २६ – चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनलाई लिएर महानगरपालिकाले पूर्वराजा...

    भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष...

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको...

    श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

    काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक...