News Portal

द्वन्द्वमा ज्यान गुमाएका खड्कबहादुरकि श्रीमतीको कहालीलाग्दो दिनचर्या

हिमाली संचार संवाददाता
५४९ पटक

रोल्पा, १० जेठ : विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिइन् ।

अलिक मन बलियो बनाउँदै उनले थपिन्, “पहिले त ब्यारेक नै आक्रमण भयो होला भनेर विश्वास नै गरिनँ, सबैले त्यही मात्र कुरा गर्न थालेपछि मेरो दिमागले काम नगरेजस्तो भयो, हातखट्टा काप्न थाले । त्यसपछि आफ्नो छेउमै भएको डेढ/दुई वर्षका नानीबाबु हेरेर आफूले आफूलाई सम्हाल्ने कोसिस गरेँ ।”

“त्यो दिन मेरो कालो दिन रहेछ, म २२ वर्षकी थिएँ, यति कलिलो उमेरमै श्रीमान् गुमाउनुजस्तो पीडा मलाई पर्छ भन्ने के थाहा, १३ वर्षकै उमेरमा लिवाङ आएँ, दुई वर्षसम्मको प्रेमपछि म १८ वर्षको हुँदा वैवाहिक बन्धनमा बाँधियौँ, विवाह भएको ४ वर्षमै श्रीमानको मृत्यु भयो”, भक्कानिदै उनले भनिन् ।

दाङ, घोराहीमा रहेको भगवतीप्रसाद गुल्ममा कार्यरत खड्कबहादुर डाँगीले तत्कालीन माओवादीले पहिलोपटक नेपाली सेनाको ब्यारेकमा गरेको आक्रमणमा परी ज्यान गुमाएका थिए । २३ वर्षका डाँगीे जागिर खाएको ६ वर्षमै आक्रमणमा परी मारिए । उनको निधनपश्चात श्रीमतीले दुई बच्चाको जेनतेन पालनपोषण गर्दै आइन् ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपश्चात द्वन्द्वपीडितले पाउने राहत भनेर १० लाख पाइन् । “सो रकम ससुराको क्रण तिर्न र किरिया खर्चमै सकियो, छोराछोरीले १२ कक्षासम्म त सैनिक स्कूलमै छात्रवृत्तिमै पढे, अब त छोराले १२ पास गरिसक्यो, सोही स्कूलमा पढ्ने व्यवस्था छैन”, डाँगीले भनिन् ।

“२१ वर्षसम्म दुई हजारका दरले पैसा दिने गरेको भए पनि अहिले त्यो पनि छैन, छोराले होटल म्यानेजमेन्ट पढिरहेको छ, कोठा भाडा, खाने खर्चबाहेक मासिक १६ हजार त शुल्कनै तिर्नुपर्छ, मेरो ११ हजार मात्र पेन्सन आउँछ, खर्च कसरी पु¥याउने” उनले दुखेसो पोखिन् ।

“जग्गा जमीन छ, बिक्दैन, श्रीमानको ज्यान बाँचेको भए धेरै कमाउँथे होला, अर्को साल छोरी पनि १२ पास गरेर सैनिक स्कूलबाट निस्कँदैछे, कसरी खर्च धान्ने होला, श्रीमान् भएको भए यति धेरै समस्या त पर्ने थिएन”, उनले गहभरि आँशु पार्दै भनिन् ।

“आफ्नो ज्यान पनि सधैँ सञ्चो हुँदैन, उमेरले पनि ४० पुग्न थालिसकेँ, खर्च झन् बढ्दैछ, कमाउने बाटो केही छैन, जुनी कसरी काट्ने हो, छोराछोरी कसरी पढाउने हो” उनले थपिन् । सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सैनिकका छोराछोरीलाई सरकारले नै उच्च शिक्षासम्म अध्ययन गराई रोजगार दिए हुन्थ्यो, मेरो श्रीमानले देशको रक्षाकै लागि ज्यान गुमाउनुप¥यो, ठूलो कक्षामा पढ्ने बेला झनै धेरै खर्च लाग्छ, त्यहीबेला सहयोग कहीँबाट पनि नआउने, अहिले मृतक सेनाका परिवारलाई उपेक्षा गरेजस्तो हामीलाई महसुस भइरहेको छ”, डाँगीले भनिन्।

विगतको १० वर्षे सशस्त्र द्वन्द्वमा रोल्पाबाट ज्यान गुमाउने एक मात्र सैनिक खड्गबहादुर डाँगी भएको भूपु सैनिक संघ रोल्पाका प्रवक्ता वीरबहादुर कुँवरले बताए । अन्य चार कालगतिले मरेका छन् भने द्वन्द्वको समयमा पहिलो अक्रमणमा परी ज्यान गुमाएका डाँगी जिल्लाको एक मात्र सैनिक भएको कुँवरले जानकारी दिए ।

रोल्पामा विसं २०५२ देखि २०६३ मङ्सिर ५ गतेको बृहत् शान्ति सम्झौता हुँदासम्मको सशस्त्र युद्धको समयमा ९६९ ले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ता भएका थिए । घाइते, अपाङ्ग हुनेको सङ्ख्या भने रोल्पामा २६६ रहेको तथ्याङ्कमा उल्लेख छ। द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट रोल्पामा मात्र यति धेरैले ज्यान गुमाए ।

ती मृतकका घरपरिवारको आर्थिक अवस्था अझै दयनीय छ । सरकारले द्वन्द्व प्रभावितलाई गाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारमा प्रदान गरे देशका लागि ज्यान आहुती गर्ने मृतकका परिवारलाई केही राहत पुग्ने द्वन्द्वपीडित श्रीकुमारी रोकाको भनाइ छ । – रासस

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...