
काठमाडौं, चैत्र १७ – नेपाल चेम्बर अफ कमर्सले गत शुक्रबार काठमाडौंका विभिन्न स्थानमा भएका हिंसात्मक प्रदर्शनहरूप्रति गम्भीर आपत्ति जनाएको छ। राजावादी प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुनु निन्दनीय भएको चेम्बरको धारणा छ।
बानेश्वर, तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएका घटनाले सर्वसाधारण, सञ्चारगृह, व्यवसायी तथा उद्यमीहरूलाई प्रत्यक्ष असर पुर्याएको भन्दै चेम्बरले यस्तो अराजक गतिविधि नियन्त्रण गर्न आग्रह गरेको छ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा दुःखद रूपमा दुई युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। साथै, निजी तथा सार्वजनिक संरचनामा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।
यस्ता घटनाले मुलुकको शान्ति सुव्यवस्था मात्र होइन, अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी दिंदै चेम्बरले हिंसात्मक गतिविधि त्याग्न सबै पक्षलाई अनुरोध गरेको छ। साथै, भविष्यमा यस्ता अप्रिय घटनाहरू नदोहोरियोस् भन्ने सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
