
काठमाडौं, चैत्र १७ – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्।
महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर व्यवस्थापनको क्षतिपूर्ति स्वरूप ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। सो जरिवाना पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोलीलाई फर्काइयो।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, “निर्मल निवासले पत्र स्वीकार नगरेपछि टोली फिर्ता भएको छ। अब कानुनी प्रक्रियाबाट जरिवाना उठाइनेछ।”
महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार, जरिवाना असुलीका लागि अन्य विकल्पहरू पनि अपनाइने छन्। उनले भने, “पत्रीकामा सूचना प्रकाशित गर्ने, हुलाकमार्फत पठाउने वा कानुनी प्रावधानअनुसार असुल उपर गर्ने व्यवस्था मिलाइनेछ।”
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा ४९ अनुसार, यदि जरिवाना स्वेच्छिक रूपमा तिर्न अस्वीकार गरेमा केन्द्रीय तहसिल कार्यालयमार्फत कानुनी प्रक्रियाबाट उठाउन सकिन्छ। अब महानगरपालिकाले यही कानुनी उपाय अवलम्बन गर्ने तयारी गरिरहेको छ।
