News Portal

  • विद्यार्थीलाई नपिटी पढाए पो !

    हिमाली संचार संवाददाता
    ४८ पटक

    काठमाडौँ — विद्यार्थीको आनीबानी सुधार्न सामान्य सजाय दिएको’ भन्दै शिक्षिका पुन पन्छिन खोजे पनि विद्यार्थीको हात भाँचिएर प्लास्टरसम्म गर्नुपरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको हो । गृहकार्य नबुझाउँदा वा गल्ती गर्दा, समयमै विद्यालय नपुग्दा, विद्यालयको कुनै नियम अवज्ञा गर्दा र आपसमा झगडा गर्दा विद्यार्थीहरू शिक्षक–शिक्षिकाको निसानामा पर्ने गरेकाछन् । सिकाइकै क्रममा विद्यार्थी पिटिने घटना बाहिर आएभन्दा नआएका अनगिन्ती छन् ।

    अधिकांश विद्यालय वास्तवमै यातनाशाला बनेका छन् । नपिटी विद्यार्थीले पढ्न नखोज्ने र शिक्षकले पढाउनै नसक्ने मानसिकता अधिकांश विद्यालयमा हावी छ । दण्डरहित शिक्षणको तौरतरिकाबारे शिक्षक–शिक्षिकालाई जानकारी दिन र विद्यार्थीलाई अनुशासन र सभ्यताको पाठ सहज रूपमा सिकाउनभन्दा विद्यालय प्रशासनले नै कुटेर तह लगाएर पढाउनुपर्ने दबाब शिक्षक–शिक्षिकामाथि दिने गरेको छ । तर विद्यार्थीहरूमा कुटपिटको नकारात्मक असर बढी हुन्छ । उनीहरू अनुशासित हुनेभन्दा तर्सिने र आतंकित भई पढाइमा झनै कमजोर हुने हुन्छन् । विद्यालयमा यातना बढ्दै गए उनीहरूमा आपराधिक मानसिकतासमेत बढ्दै जान्छ । अनि सजायबिना पढाउनै नसकिने मान्यतासहित लट्ठी लिएर कक्षाकोठामा प्रवेश गर्ने शिक्षक–शिक्षिकासँग विद्यार्थीको कस्तो मनोविज्ञान जोडिएला ?

    विद्यालयमा बालबालिकाले सजाय पाउनुमा दूषित सामाजिक वातावरण र पारिवारिक पृष्ठभूमि पनि कारक हुन्छन् । सबै बालबालिका समान क्षमताका हुँदैनन् । कतिपयले सामाजिक–पारिवारिक वातावरण पनि उपयुक्त पाउन सकेका हुँदैनन् । यस्ता सबै बालबालिकालाई एउटै कक्षाकोठामा राखेर एकै प्रक्रियाले पढाउन खोज्दा सिकाइ प्रभावकारी बन्दैन । पढाइमा लगाव नभएका, कुलतमा फसेका वा कुसंगतमा लागेका विद्यार्थी नै अनेक बहानामा पढ्न अल्छी गर्ने, अनुशासनहीन क्रियाकलाप गर्ने हुन्छन् र सजायको भागी बन्छन् । कतिपय अभिभावक नै आफूले सन्तान तह लगाउन नसकेको र आफूलाई नटेर्ने, पढाइमा ध्यान नदिने भएका कारण कुटेर भए पनि पढाउन शिक्षकलाई अनुरोध गर्ने गर्छन् ।

    नेपालमा शिक्षा र सजाय एक सिक्काका दुई पाटाजस्तै भएका छन् । सजाय नदिई पढाउने शिक्षक कमै हुन्छन् । सजाय नदिने शिक्षकलाई ‘कमान्डिङ’ क्षमता नभएको भन्ने गरिएकाले पनि शिक्षकहरू धेरथोर यातनामा लालायित हुन गर्छन् । हाम्रा विद्यालयमा झन्डै ८२ प्रतिशत बालबालिका दुर्व्यवहार र यातनाको सिकार हुने गरेको तथ्य छ । यातनाकै कारण १४ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको अध्ययनले देखाएको छ ।

    शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षकहरूलाई उपलब्ध गराउने गरेको दसमहिने प्रशिक्षण कार्यक्रममा विद्यार्थीलाई दिइने यातनाविरुद्धपाठ्यांशहरू समावेश छन् । उक्त कार्यक्रममा सार्वजनिक विद्यालयका शिक्षकले भाग लिए पनि निजीका शिक्षकहरूको सहभागिताभएको पाइँदैन ।

    प्रविधिको बढ्दो प्रयोग, सहरीकरण, कुलत र खराब संगतका कारण उल्लेख्य विद्यार्थीमा वर्तमान शिक्षा पद्धतिप्रति बेवास्ता बढ्दो छ । विद्यार्थीलाई अनुशासनमा राखी पढाइको गुणस्तर बढाउन निजी विद्यालयहरूले डीआई (डिसिप्लिन इन्चार्ज) नै नियुक्त गर्ने गरेका छन् ।

    निजी विद्यालयमा सतहमा देखिएको गुणस्तरीय शिक्षाको अन्तर्यमा विद्यार्थी यातनाको गुह्य लुकेको हुन्छ । विद्यार्थीको उमेर, क्षमता र कक्षागत विषय बमोजिम शिक्षकहरूमा सिकाइको अनुभव नहुँदा पनि विद्यार्थीहरू बिनाकसुर सजायको भागी हुने गरेका छन् । कतिपय अयोग्य र अदक्ष शिक्षकका कारणसमेत विद्यार्थीले यातना तथा दुर्व्यवहारको सिकार हुनुपरेको छ ।

    बालबालिकाले स्वस्फूर्त रूपमा स्वतन्त्र भएर सिक्ने थलो हो, विद्यालय । तर यो वातावरण किन बन्न सकेको छैन ? घोकन्ते शिक्षा प्रणाली पनि सजायको मुख्य कारण हो । खेल, चित्र, संगीत वा अडियो–भिडियो सामग्रीबाट मनोरञ्जनात्मक ढंगले पठन–पाठन गराएर विद्यार्थीलाई चिन्तनशील बनाउने उपायमा विद्यालयहरूले ध्यान नदिँदा सजायरहित शिक्षण सिकाइ स्थापित हुन नसकेको हो । प्राथमिक तहका, खेल्दै–सिक्दै गर्ने उमेरका बालबालिकाले समेत सिकाइका क्रममा सजाय पाउनु हाम्रो विद्यालयीय वातावरण र शिक्षा व्यवस्थाकै

    कमजोरी हो ।

    सजायलाई शैक्षिक उपकरणका रूपमा अवलम्बन गर्ने प्रवृत्ति हटाउन शिक्षक एक्लोको प्रयास काफी हुँदैन । यसका लागि पाठ्यक्रम, विद्यालयको शैक्षिक तथा प्रशासनिक क्रियाकलाप, शिक्षण प्रक्रिया, विद्यार्थीको पारिवारिक पृष्ठभूमि र मनोगत प्रवृत्तिसमेत सुधारिनु आवश्यक छ ।

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
         थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.HimaliSanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    तपाईंको आजको राशीफल ! शेयर गर्नुहोस

    वि.सं. २०७६ साल कार्तिक २६ गते मंगलबार | सन् २०१९ नोभेम्बर १२ तारीख | नेपाल...

    हलेसीतुवाचुङ नगरपालिकामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

    रामधन राई खोटाङ २६, २०७६ कार्तिक : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी...

    आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

    सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै...

    वडा सदस्य शाहीले सडक निर्माण रोकेपछि..

    बाँके २५, २०७६ कार्तिक : देशमा २०५४ सालमा भएको स्थानीय निर्वाचन भएको २० बर्षपछि स्थानीय...

    सुरज र दीपाको उत्कृष्ट अभिनयको “मेरै माया जाती” गीत बजारमा [भिडियो सहित]

    काठमाडौ २५, २०७६ कार्तिक : सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा “मेरै माया जाती” बोलको लोकदोहोरी...