News Portal

घण्टौँ हिँडेर विद्यालय पुग्छन स-साना बालबालिका !

हिमाली संचार संवाददाता
५०७ पटक

केशर राेका
प्युठान : माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। ३ घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्। बिहानै गाडी पाउँदैन। संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन्।

ठेडीलाई राम्रोसँग पढ्नेभन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ। बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो। चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन्। अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजे नै उनी विद्यालय हिँड्नुपर्छ। दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन्।

नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ। थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन्। झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन्। माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्।

११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन्। थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटेलगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ। जसपुर, चकचके, आपचौर, सल्लीकोट, नरसुउदयपुरकोट, धाइरेचौर र भलावाङका बालबालिकासमेत घण्टौँ हिँडेर विद्यालय जाने गर्छन्।

‘स्कुलमा पुग्दा खुट्टा दुख्छन्’, ९ कक्षामा अध्ययनरत थक्लेनीकी १५ वर्षीया सेमन्ता उलुङेले भनिन्, ‘६ बजे हिँड्नुपर्छ। थकाइ लागेर पढ्नै सकिँदैन।’ आठ कक्षासम्म जस्पुरस्थित भवानीश्वरी आधारभूत विद्यालयमा पढेको उनले सुनाइन्। माध्यमिक विद्यालयमा आउजाउ गर्न करिब २२ किलोमिटर हिँड्नुपर्छ।

गाउँमै माध्यमिक तहसम्म पढाइ हुने विद्यालय नहुँदा टाढाका बालबालिका घण्टौँ हिँडेर विद्यालय पुग्ने गरेका छन्। बस्ती छरिएकाले टाढाका गाउँमा मावि सञ्चालन गर्न समस्या हुने सम्बन्धित विद्यालयले जनाएका छन्। ६ कक्षादेखि माथिका २ सय ७१ जना विद्यार्थी आउजाउ गर्दा झण्डै ६ घण्टा हिँडेर विद्यालय आउने गरेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए।

‘स्कुल बस सञ्चालन गर्न सके विद्यार्थीलाई धेरै सहज हुने थियो’, उनले भने, ‘विद्यालयले लगानी गर्न सक्ने अवस्था छैन। साना बालबालिका घण्टौं हिडेर स्कुल आउँदा साह्रै पीडाबोध हुन्छ।’ पढ्न आउने विद्यार्थीको घरघरमा गाडी पुग्ने मोटरबाटोको सुविधा भए पनि स्कुल बस सञ्चालन गर्न नसकिएको उनले सुनाए।

कतिपय बालबालिकाले विद्यालय आउन–जानका लागि साइकल किनेका छन्। तर, त्यसले दिगो समाधान दिन सकेको छैन। सबैको पहुँचमा साइकल नहुँदा अझ विद्यार्थीमा मनोबल घटाएको पाइएको छ। जिल्लाकै अब्बल मानिने उक्त विद्यालयमा विद्यार्थीको आकर्षण बर्सेनि थपिँदै गएको छ। माण्डवी गाउँपालिकाले पालिकामध्येबाट नमुना विद्यालयका रूपमा यसै विद्यालयलाई अघि सारेको छ। उक्त विद्यालयमा ८ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताए।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...