News Portal

परराष्ट्रमन्त्री भन्छन् – राजदूतको अनुहारमा खसआर्य र पुरुषमात्रै ?

५ देशमा नेपालका राजदूत खाली छन् । २८ देशमा रहेका राजदुतमध्ये महिला ५ , दलित १,  जनजाति २, मधेसी १ र खसआर्य १९ जना छन्

हिमाली संचार संवाददाता
४२९ पटक

रघुनाथ बजगाई
काठमाडौं : संविधानको धारा २८२ मा राज्यका हरेक क्षेत्रमा समावेशिता लागु हुने उल्लेख छ । तर, राजदुत नियुक्तिमा भने उक्त व्यवस्था अनुसार समावेशिता कायम नभएको भन्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष विहीबार असन्तुष्टि पोखे ।

संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री ज्ञवालीसँगको छलफलमा सांसदहरुले राजदुत नियुक्तिमा समावेशिता नभए द्वन्द्व बढ्न सक्ने चेतावनी समेत दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले नेपालको संविधानको समावेशिताको मर्मअनुसार राजदुत नियुक्ति नभएको बताए । ‘राजदुत नियुक्ति संविधान अनुसार भइरहेको छैन्’, चेतावनीको शैलीमा सांसद प्रधानले भने, ‘सानोतिनो कुराले द्वन्द्व बढ्न सक्छ ।

कांग्रेस सांसद प्रधानले राजदुतहरु नियुक्तिमा बाहुन, क्षेत्री र पुरुष समुदायले मात्रै प्राथमिकता पाइरहेको तर्फ संकेत गर्दै संविधानको भावनाअनुसार महिला, जनजाति, मधेसी र दलितहरुलाई पनि राजदूत बनाइनुपर्ने बताए ।

सांसद जितेन्द्र नारायण देवले समावेशितालाई अर्को द्वन्द्वको स्रोत बन्न दिन नहुने बताए । उनले नेपालको विदेश नीति कमजोर भएको आशंका पनि व्यक्त गरे ।

नेकपा सांसद अमृता थापाले पनि सबै क्षेत्र समावेशी हुनुपर्ने माग गरिन् । नेकपाकै अर्की सांसद निरुदेवी पालले निजामती क्षेत्रबाट राजदुत बनाउँदा पनि ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता हुने वातावारण बनाउन सरकारसँग माग गरिन् ।

कांग्रेस सांसद पुष्पा भुसालले राजदुतहरु राजनीतिक आस्थाका आधारमा नै पार्टीले खटाउने भएकाले व्यक्तिको प्रतिष्ठामा आँच आउने गरी ‘काम गर्न नसकेको’ भन्ने जस्ता विषयलाई देखाउन आवश्यक नरहेको बताइन् । राजदुतको मर्यादा र उक्त देशसँगको सम्बन्धलाई सम्बन्धित राजदुतले कति मजबुद बनाउन सक्यो भन्ने ख्याल गर्न सरकारलाई भुसालले सुझाव दिइन् ।

योगेश भट्टराईले दिए छक्का र चौकाको उपमा !

सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले राजदुत नियुक्त हुँदा समावेशितालाई ख्याल गरिएन भन्ने प्रश्न फेरि संसदीय समितिमा उठ्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गरे । तर, वर्तमान सरकार समावेशीलाई ख्याल गर्ने सरकार भएको भट्टराईको दाबी थियो ।

नालापानीको युद्धमा पनि महिला, जनजातिले सहभागिता जनाएको उल्लेख गर्दै भट्टराईले जनयुद्ध लगायतका विभिन्न राजनीतिक आन्दोलनमा समावेशिता रहेको उल्लेख गरे । यति भनिसकेपछि भट्टराई क्रिकेटको उदाहरण दिनतर्फ लागे ।

नेपालको खेल क्षेत्र समावेशिताको दृष्टिले उदाहरणीय रहेको सांसद भट्टराईको भनाइ थियो । भर्खरै हामीले क्रिकेटमा धेरै राम्रो सफलता हासिल गर्‍यौं । क्रिकेटको टिम हेर्ने हो भने सानदार समावेशी छ’ सांसद भट्टराईले भने, ‘सोमपाल कामी, आरिफ सेखदेखि राजवंशी, गौचन, मल्ल्ा, लामिछाने, भेस्वाकर अनेक, अनेक ।

नेकपा नेता समेत रहेका सांसद भट्टराईले राजदूतसँगको छलफलमा क्रिकेटको उदाहरण दिँदै अगाडि थपे, ‘लामिछाने मात्रै भएको भए त के हुन्थ्यो ? सोमपाल कामीले छक्का हान्दा नेपालका कट्टर बाहुनहरुले ताली पिटे । शक्ति गौचनले चौका, छक्का हान्दा कट्टर बाहुनहरु टोपी फालेर उफ्रे ।

सन्दीप लामिछानेले छक्का हान्दा कामी चुप लागेर बस्दैन, यो हाम्रो विशेषता हो । प्रधानमन्त्री केपी शर्मा ओलीको बैबाहिक सम्बन्ध नै समावेशी भएको सांसद भट्टराईको भनाइ थियो ।

परराष्ट्रमन्त्रीको जवाफ – विश्वमा नेपाल देखिन थाल्यो !

संसदीय सुनुवाई समितिको छलफलमा सहभागी बनेका परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार विभिन्न ५ देशमा नेपालका राजदूत खाली छन् । २८ देश तथा नियोगमा नेपाली राजदूतहरु कार्यरत छन् ।

बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् । २८ देशमा रहेका नेपाली राजदुतमध्ये महिला ५ जना, दलित १ जना, जनजाति २ जना, मधेसी १ जना र खसआर्य १९ जना छन् ।

सांसदहरुले उठाएको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले विश्व समुदायमा नेपाल देखिन थालेको बताए । विभिन्न देशमा राजदूत नियुक्त गर्दा सरकारले नेपालको समावेशी दृश्य देखाउन प्रयत्न गर्ने ज्ञवालीले  प्रतिवद्धता जनाए ।

मन्त्री ज्ञवालीले नेपालले विश्व समुदायमा आफ्नो उपस्थिति देखाउन थालेको दाबी गरे । उनले भने, ‘राज्यका हरेक नियुक्तिमा राज्यको दृश्य देखिनुपर्छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।

कम्तिमा सम्बन्धित देशको भाषाको राम्रो ज्ञान नभए पनि दोहोरो सम्वाद गर्न सक्ने मापदण्ड पूरा गर्नेलाई राजदूत बनाउन सकिने मन्त्री ज्ञवालीको भनाइ छ ।

बैठकमा केही सांसदले नेपालको विदेशनीति कमजोर हुँदै गएको हो कि भन्ने आशंका व्यक्त गरेको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको विदेश नीति कमजोर भयो भन्ने मलाई लाग्दैन । ११ महिनाको तस्वीर हेर्‍यौं भने नेपाल विश्व समुदायमा देखिन थालेको छ । सुनिन थालेको छ ।

डाभोस सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता हुनु र त्यसक्रममा एक महत्वपूर्ण सेसन जी-ट्वान्टीमा प्रधानमन्त्रीले बोल्ने अवसर प्राप्त गर्नु नेपाल विश्व देखिन थालेको एक उदाहरण भएको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘यसको अर्थ कहीँ न कहीँ नेपाललाई सुनाउने मात्र होइन, सुन्नुपर्छ है भन्ने परेको छ ।

चीन र भारतसँगको सम्बन्धलाई पनि नेपालले सन्तुलनमा राखेको मन्त्री ज्ञवालीको भनाइ छ । उनले भने, ‘भारतसँगको कुन अवस्थाबाट कुन सम्बन्धमा आइपुगेका छौं, चीनसँगको औपचारिक सम्बन्ध कुन ठाउँमा आइपुगेको छ, यो हेर्ने हो भने नेपालको बाहृय नीति कमजोर छ भन्ने अवस्था देखिन्न ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...