News Portal

  • पत्रकारका ३५ वर्षे पतिले पल्टाउलान् त भेनेजुएलाको सत्ता ?

    हिमाली संचार संवाददाता
    ५३४ पटक

    तस्वीरमा देखिएका युवा अहिले विश्वभर चर्चामा छन् । उमेरले ३५ वर्षमात्र पुगेका युवा इञ्जिनियर जुआन गुइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । उनलाई अमेरिका लगायत २० भन्दा बढी देशको साथ छ । गुइदोका साथमा रहेकी पत्नी फबियाना रोसेल्सचाहिँ भेनेजुएलाकी पत्रकार हुन् ।

    भेनेजुएलाको राजनीतिक संकटको चर्चा त विश्वभर छँदैछ, तर ५६ वर्षे राष्ट्रपति मादुरोलाई कसरी एकजना ३५ वर्षे युवकले हाराबारा खेलाइरहेका छन् भन्ने सुन्दाखेरि त्यहाँको राजनीतिक संकटभित्र एउटा रुमानी तस्वीर समेत नजरमा आउँछ ।

    पपुलर विल’ जन्माएका युवा नेता
    भनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुइदो विपक्षी दलका ठूला नेता होइनन् । उनको पार्टी पनि खासै ठूलो छैन । बरु उनी आम मानिसहरुमा लोकप्रिय युवा नेता चाहिँ हुन् । विपक्षी पार्टीका गुइदो भन्दा सिनियर नेताहरु त घरैमा नजरबन्दमा थुनिएका छन् ।

    गुइदो भेनेजुएलाको संसदका अध्यक्ष (सभामुख) समेत हुन् । यही आधारमा उनले आफूलाई त्यहाँको संविधानको धारामै टेकेर अन्तरिम राष्ट्रपति दाबी गरेका हुन् ।

    उमेरले ३५ वर्षमा हिँडिरहेका गुइदो पेशाले इञ्जिनियर हुन् । उनका पिता पाइलट थिए । आमा शिक्षिका । गोइदोका हजुरबा सिपाही पेशामा थिए । सन् १९९९ मा बाढीपहिरोका कारण गुइदोको परिवार केही समय घरबारविहीन बन्यो ।

    गुइदोले अमेरिकाबाट उच्च शिक्षा लिएका छन् । अमेरिकाको जर्ज वाशिंटन युनिभर्सिटीबाट पब्लिक एडमिनिस्ट्रेसनमा उनले पोष्ट ग्राजुएट गरेका छन् । यसबाहेक उनले इन्डष्ट्रियल इञ्जिनियरिङ पढेका छन् । गुइदोले दक्षिण अमेरिकी देशहरुले भोगिरहेको कामदार एवं औद्योगिक समस्याहरुका विषयमा विश्वविद्यालमार्फत रिसर्च गरेका छन् ।

    गोइदो भेनेजुएलाका पूर्वविद्यार्थी नेता हुन् । सन् २००७ मा आरसीटीभीको नवीकरणमाथि सरकारले प्रतिबन्ध लगाएको विरोधमा उनी विद्यार्थी आन्दोलनमा उत्रिए । त्यसैगरी सीमा समस्या एवं संवैधानिक जनमत संग्रह आदिमा भएका विद्यार्थी आन्दोलनमा उनी सहभागी बने । सडकमा निस्के ।

    यही क्रममा सन् २००९ मा भेनेजुएलामा आन्दोलनकारीहरुले ‘पपुलर वील’ (लोकप्रिय ईच्छा) नामक पार्टी खोले । र, गुइदो पनि त्यसको संस्थापक सदस्य बने । त्यतिखेर उनको उमेर २५ वर्षको मात्रै थियो । गुइदोकी श्रीमती र एक सानी छोरी छन् । श्रीमती पत्रकार हुन्, जो मल्टीमिडिया जर्नालिज्ममा रुची राख्छिन् ।

    पार्टी खोलेको अर्को वर्ष सन् २०१० मा २६ वर्षको उमेरमै गुइदोले नेशनल एसेम्ली (संसदमा) चुनाव जिते । सन् २०१५ को चुनावसम्म आइपुग्दा उनी भोक हडताल गरेर चर्चित बने । र, पुनः भेनेजुएलाको संसदमा जितेर आए ।

    अहिले त्यहाँको १६७ सदस्यीय संसदमा गुइदो संलग्न ‘पपुलर वील’को प्रतिनिधित्व १४ सीटमा मात्र छ । तर, उनी संसदको अध्यक्ष चुनिएका छन् । भेनेजुएलाको पपुलर वीलले आफूलाई दक्षिणपन्थी नभएर मध्यपन्थी सोसल डेमोक्रेटिक पार्टी भएको दाबी गर्छ । प्रजातन्त्रको पक्षपोषण र भ्रष्टाचारको विरोध उसको मुख्य एजेण्डा हो ।

    राष्ट्रपति मादुरोको सोसियलिष्ट पार्टीचाहिँ लेफ्ट विङ हो, जसले संसदमा एकल रुपमा ३० सीट र मोर्चाका तर्फबाट कुल ५० सीटको प्रतिनिधित्व गर्दछ ।

    अहिले भेनेजुएलामा देखिएको संकट राष्ट्रपति भर्सेस संसदको शक्ति संघर्षका रुपमा समेत प्रकट भइरहेको छ । त्यहाँको संसदमा कुनै दलको पनि एकल बहुमत छैन । यही परिस्थितिमा १४ सीटको प्रतिनिधित्व गर्ने गुइदोले संसदको अध्यक्ष जित्न सफल भएका हुन् ।

    मादुरोको विपक्षी धारकै कारणले राष्ट्रपति मादुरो भर्सेस त्यहाँको संसदवीच शक्ति–संघर्ष चर्केको हो । यद्यपि अदालत र सेनाले संसदका निर्णयहरुलाई साथ दिएका छैनन् र राष्ट्रपतिकै पक्ष लिइरहेका छन् । भेनेजुएलाको संविधानमा राष्ट्रपति पद रिक्त भयो भने सभामुखले अर्को निर्वाचन अवधिभर अन्तरिम राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रावधान छ ।

    भेनेजुएलाको संविधानको धारा २३३ ले भनेको छ– ‘जब राष्ट्रपति पदको कार्यभार ग्रहण गर्नुपूर्व उनी पूर्णतः अनुपस्थित हुन्छन् वा जबसम्म राष्ट्रपतिले निर्वाचित भई पदभार ग्रहण गर्न बाँकी रहन्छ, त्यसबेलासम्म संसदको अध्यक्ष अन्तरिम राष्ट्रपति हुन्छ ।

    संविधानको यही धारामा टेकेर गुइदोलाई संसदले अन्तरिम राष्ट्रपति घोषणा गरेको हो । विपक्षी दलहरुले गत मे महिनामा सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा नमान्ने घोषणा गर्दै गुइदोलाई संसदको अध्यक्ष र त्यसपछि अन्तरिम राष्ट्रपतिमा अघि सारेका हुन् ।

    तर, त्यहाँको संस्थापन पक्षले भने राष्ट्रपतिको चुनाव सकिएर सपथ ग्रहण गरिसकेको अवस्थामा संसदले त्यसो गर्न नसक्ने जिकिर गरिरहेका छन् । सुप्रिम ट्रिबुनल अफ जस्टिसले पनि संसदको निर्णयलाई मान्यता दिएको छैन । यसैवीच गुइदोले मंगलबार एक ट्विट गर्दै आफ्ना छोरा नातिको भविश्य हेर्न भनेका छन् ।

    बस चालकले हाँकेको सत्ता

    गत मेमा सम्पन्न राष्ट्रपतीय चुनावमा निकोलस मादुरोले करिब ६२ लाख पपुलर भोट प्राप्त गरेका थिए । उनले पाएको सो मत ६७.०८ प्रतिशत हो । विपक्षी प्रोग्रेसिभ पार्टीका हेनरी फाल्कनले १९ लाख अर्थात २० प्रतिशत मत पाएका थिए भने तेस्रो स्थानका उम्मेदवारले १० प्रतिशतको हाराहारीमा मत पाएका थिए । राष्ट्रपतिको चुनावमा एक इञ्जिनियर युवासमेत उटेका थिए, उनले ३६ हजार मत पाए ।

    भेनेजुएलाका राष्ट्रपति मादुर अहिले ५६ वर्ष पुगेका छन् । उनकी कान्छी श्रीमती फस्ट लेडी सिलिया फ्लोरेस ६२ वर्षकी भइन् । फ्लोरेस ह्युगो चाभेजकी वकिल थिइन्, जो राजनीतिमा समेत अनुभवी मानिन्छिन् ।

    राष्ट्रपति मादुरो सामान्य मजदुर परिवारमा जन्मेका हुन् । उनका बुबा ट्रेड युनियनका नेता थिए जसको, मोटर दुर्घटनामा निधन भयो । राजनीतिमा आउनुअघि मादुरो बसका चालक थिए । उनी टे«ड युनियन आन्दोलनबाट वाम राजनीतिमा छिरेका हुन् ।

    दुई श्रीमती बिहे गरेका मादुरोका जेठीपट्टिका तर्फबाट एक छोरा छन्, जो सरकारी अफिसर छन् । कान्छी पत्नीले चाहिँ एकजना धर्मपुत्र राखेकी छिन् ।

    एकातर्फ उमेर ढल्कँदै गरेका पुराना शासक, अर्कातिर अनुभव भन्दा आवेश बढी भएका झर्झराउँदा युवा । यी दुई उमेरसमूहवीचको नेतृत्व टकराव यतिबेला भेनेजुएलामा प्रहर बनेको छ ।

    के अब पत्रकारका श्रीमानले पल्टाउलान् त भेनेजुएलाको वामपन्थी सत्ता ? यसलाई हेर्न अझै केही समय पर्खनुपर्ला । तथापि, सेना र अदालतको साथ राष्ट्रपति मादुरोलाई नै भएकाले युवा नेता गुइदोको राजनीतिक भविश्य निकै चुनौतीपूर्ण देखिन्छ ।

    भेनेजुएला सरकारले बुधबारमात्रै उनलाई विदेश जान रोक लगाएको छ । उनी कुनै पनि बेला जेल पर्न सक्ने खतरा छ । अघिल्लो साता पनि बोलिभारियन गुप्तचरको एक टोलीले केहीबेर कब्जामा लिएर छाडेको थियो । अनलाइनखबरबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...