सुर्खेत : केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार गरेका हुन् ।
केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बुधबार तय गरिएको प्रेस युनियन सुर्खेतको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको मंगलबार विज्ञप्ति जारी गरेका थिए । केन्द्रीय समितिको निर्देशनको उलंघन गर्दै एक समूहले बुधबार अधिवेशन सम्पन्न भएको जनाएको हो ।
केन्द्रीय समितिको निर्देशन अनुसार अधिकांस क्रियाशिल पत्रकारहरुको उपस्थितिविनै अधिवेशन भएको हो । विधान अनुसार अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्षले प्रतिनिधि र सदस्यता टुंगो लगाउनुपर्छ । तर, केन्द्रीय प्रतिनिधि र सदस्य संख्याको टुंगो नलाग्दै सुर्खेत शाखाको एक समूहले अधिवेशन आव्हान गरेको हो ।
अधिवेशनका लागि एक साता अगाडीनै सदस्यहरुलाई सूचना दिनुपर्ने हुन्छ । अध्यक्ष नरेशसिंह थापाको समूहले अधिवेशनको एक घण्टा अघाडी आफू निकटका प्रेस यूनियनका सदस्यहरुलाई फोन गरेर बोलाएका थिए ।
अधिवेशनका लागि सदस्यको टुंगो, अधिवेशनको मिति र अतिथिहरुका विषयमा कार्यसमितिमा पनि छलफल नगरेर अध्यक्ष थापाले एकलौटी निर्णय गरेका हुन् । ‘जिल्ला अधिवेशनका विषयमा कार्यसमितिमा पनि कुनै छलफल भएन्’ कार्यसमिति सदस्य माया थापाले भनिन्, ‘एकै पटक अधिवेशन सुरु भएको मात्रै बाहिरबाट जानकारी पाएँ ।
केन्द्रीय अध्यक्ष सिग्देलले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन नगर्न र नगराउन निर्देशन दिएक थिए । उनले केन्द्रीय समितिको निर्देशन उलंघन गरेर गरिएको अधिवेशनलाई मान्यता नदिने बताइसकेका छन् । ‘अर्को सूचना जारी नभएसम्मका लागि सुर्खेतको अधिवेशन नगर्न यसअघिनै निर्देशन भइसकेको छ’ अध्यक्ष सिग्देलले भने, ‘केन्द्रीय समितिको निर्देशनको उलंघन गरेर गरिएको अधिवेशनले मान्यता पाउँदैन् ।
प्रेस युनियन सुर्खेतमा सदस्यता विवाद कायम छ । क्रियाशिल सदस्यहरुलाई नवीकरण गर्न नदिएको र पार्टीका कार्यकारी पदमा रहेका व्यक्तिलाई सदस्य कायम राखिएको भन्दै केन्द्रीय समितिमा उजुरी परेको छ ।
‘क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिइएको, शुद्धिकरणको नाममा क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगरिएको, आफू निकटका र पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण गरिएकोलगायतका विषयमा केन्द्रीय समितिमा उजुरी परेको छ’ यूनियनका एक सदस्यले भने, ‘यि विषयहरुमा छानविन नहुँदै गरिएको अधिवेशनको अर्थ छैन् ।’
नेपाली कांग्रेस निकट क्रियाशिल पत्रकारहरुको संगठनमा पार्टीका अध्यक्ष कमलराज रेग्मीलगायत कार्यकारी पदमा रहेका व्यक्तिहरु सदस्य छन् ।
यस्तो छ प्रेस युनियन केन्द्रको निर्देशनात्मक पत्र :
प्रेस युनियन सुर्खेतकाे ७ औं अधिवेशन थापाको नेतृत्वमा सर्वसम्मत समिति
नेपाल प्रेस युनियन सुर्खेत शाखाको ७ औं अधिवेशन एवं १७ औं बार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । अधिवेशनले पुनः नरेश सिंह थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका साथै प्रदेश पार्सद र केन्द्रीय पार्सद पनि सर्वसम्मत चयन भएका छन् ।
जिल्ला समितिको समावेशी उपाध्यक्षमा अशोक राजी, सचिवमा मधुवन विसी, सहसचिवमा टेकराज केसी, महिला सहसचिवमा मनिषा गुरुङ, कोषाध्यक्षमा डिलु रावत चयन भएका छन् । यस्तै सदस्यहरुमा नवीनकुमार शाही, बुद्धिसिंह ठकुरी, चाँदनी कठायत, पूर्ण खड्का, नारायणविक्रम जिसी, सुजन थापा, सुनिता विसी र सिपी कार्की चयन भएका छन् ।
केन्द्रीय पार्सदहरुमा मोतिलाल पौडेल, ललित भट्टराई, गणेश पन्त, दिपा कोइराला, सुरेश पन्त, राजेन्द्रविक्रम शाही, क्षेत्रमणि गिरी, विमला खड्का, नवल गिरी, सविता कोइराला, सुनिता पन्त, हरि शर्मा र खगेन्द्र आचार्य चयन भएका छन् ।
त्यस्तै प्रदेश पार्सदहरुमा ललित बसेल, कमल पन्त, सन्तोष श्रेष्ठ, आनन्दविश्व पन्त, यमुना सापकोटा, नन्दु गेलाह्, चिन्तामणि कँडेल, सिर्जना बुढाथोकी, महेन्द्र चन्द, लालसिंह मिजार, गणेश कार्की, नवराज रेग्मी, राजकुमार सिंजापति, टंक सारु, चन्द्रकुमार पाण्डेय, सम्झना खत्री, विद्या उपाध्याय र सागर लम्साल चयन भएका छन् ।
निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय पार्सदहरुलाई निर्वाचन मण्डलका संयोजक दुर्गाप्रसाद सापकोटा, सदस्यहरु उत्तम आचार्य, अमर रोकाय, केन्द्रीय प्रतिनिधि खिला कार्की, युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसअघि सम्पन्न उद्घाटन सत्रमा युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले विगतमा गरिएका सहमति पालना गरेर नै अगाडि बढ्दा सवैको लागि हितकर हुने बताएका छन् । उनले अटेरी जमातविरुद्ध प्रश्न गर्ने बानी बसालौं भन्दै युनियनको अधिवेशनबाट चुनिने नयाँ नेतृत्वलाई केन्द्रीय समितिले स्वागत गर्ने जनाए । उनले युनियनका केन्द्रीय अध्यक्षले व्यक्तिगत स्वार्थका कारण जिल्ला अधिवेशन नगर्न वक्तव्यबाजी गरेको भन्दै जिल्ला अधिवेशन गर्ने अधिकार जिल्ला समितिकै भएको जनाए । समस्याहरु भएमा अधिवेशनमा सहभागी भएर समाधान गर्नुपर्ने तर समस्याबाट भाग्न नहुने उनको भनाइ छ ।
युनियनका केन्द्रीय सचिव एवं केन्द्रीय प्रतिनिधि खिला कार्कीले प्रेस युनियनलाई बलियो बनाउन सके लोकतन्त्रलाई पनि बलियो पार्न सकिने बताए । जतिसुकै असन्तुष्टि भएपनि अधिवेशनबाटै समाधान गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रम युनियन कालिकोटका पूर्व अध्यक्ष नारायणप्रसाद भट्टराई, तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल, कांग्रेस क्षेत्रीय सभापति नारायण कोइराला, युनियनका केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, खगेन्द्र भट्टराई, युवराज रेग्मीलगायतले शुभकामना व्यक्त गरेका थिए ।