News Portal

कार्यक्रममा भेट हुँदा भुपु श्रीमती, जार र म सँगै नाँचेका छौ : रिक्सावाल मुन्ना

आफूलाई पनि रमाइलो गर्न रहर लाग्छ !

हिमाली संचार संवाददाता
८२२ पटक

मोरङको उर्लाबारीस्थित बरगाछीमा अडेसिएर गफिँदै थिए, कृष्णकुमार पौद्धार मुन्ना । उर्लाबारीमा लामो समयदेखी रिक्सा चलाएर जिविको पार्जन गरिहेका उनलाई नचिन्ने सायदै छन् ।

उर्लाबारीको रिक्सा चालक भन्दा उनको मुहार धेरैको दिमागमा आउछ । बिहे उत्सव र कार्यक्रममा मुन्नाले कमेडी नृत्य गर्दा रमाईरमाई हेर्नेको जमात लाग्छ । उनैसँग पत्रकार तेजन खड्काले गरेको कुराकानी :

कति भयो रिक्सा चलाउन थालेको ?
रिक्सा चलाउन थालेको १९ बर्ष जति भयो ।

कति कमाइ गर्नुहुन्छ ?
अहिले त खासै हुँदैन । सबै सफारीमा सररर चढेर गइहाल्छन् । हामी त हेरेको हेर्यै । चिनेजानेको दयामायाले २,३ जना चढ्छन् ।

आफ्नो कमाइले खान लगाउन पुग्छ ?
के पुग्नु घरखर्चका लागि ऋण काढ्नुपर्छ ।

कति छ तपाईंको ऋण ?
छ नि हल्काफुल्का, के सोध्नुहुन्छ सुनाएर के हुन्छ र ।

रिक्सा चलाएर जोगाउनु भएन ?
के जोगाउन खर्च पनि हुन्छ । गाई पालेरमात्र भएन् । स्याहारसुसार पनि गर्नुपर्‍यो ।

कति गाह्रो छ रिक्सा चलाउन ?
पहिले कमाई हुन्थियो । उर्जा पनि थियो । अहिले त उमेर पनि बढ्दै गयो । पहिले भन्दा गाह्रै छ । पिचरोडमा चाँहि सजिलै छ ।

कमाएको पैसा कहाँ राख्नुहुन्छ ?
कमायो खायो त्यति हो हजुर बचत छैन् ।

को को हुनुहुन्छ घरमा ?
एक्लै छु ।

अनि श्रीमती ?
उस्ले छाडेको झण्डै डेढ बर्ष भयो ।

माया गर्नुभएन कि क्या हो ?
माया त धेरै गरेको तर मानेन । यतिको माया त कसैले गर्दैन होला आफ्नो श्रीमतीलाई ।

माया गरेको भए किन छोडेर गईन त ?
खै किन हो थाहा छैन् । म यहि कुरामा दोधार छु । म भन्दा धेरै पाए गर्ने पाई होला । तिमी बिना जिउन सक्दिन भन्दा पनि मानिन् ।

जिईरहनुभएको छ त ?
जिउन त जिईरहेको छु । रक्सी पनि पहिले भन्दा बढी नै पिईरहेको छु । बाहिर हाँसेपनि भित्र रोईरहेको छु ।

अनि छोराछोरी थिए कि थिएन त ?
एउटा छोरा एउटी छोरी थिए । छोरीचाँहि खसिन् । छोराचाँहि सँगै लिएर गई । मैले म राख्छु भने तर मानिन् ।

उसको माया कति लाग्छ ?
धेरै लाग्छ । आजसम्म पनि उसकै यादमा तड्पीएको छु ।

फेरि आईभने राख्नुहुन्छ त ?
राख्छु नि । किन नराख्नु । आफ्नो भनेको आफ्नै हो नि ।

अनि भेटहुन्छ कि हुँदैन आजभोलि उसँग ?
जार र उसँग भेट हुन्छ । राम्रोसँग पाल भनेर भेट हुँदा खर्च दिन्छु । कार्यक्रममा भेट हुँदा भुपु श्रीमती, जार र म सँगै नाँचेका छौ ।

तपाईलाई त मुन्ना भनेर धेरैले चिन्छन नि हैन उर्लाबारीमा ?
हो चिन्छन । सानो सानो केटाकेटीेले पनि चिन्छ ।

तपाईको रिक्सामा पनि मान्छे धेरै चढे हैन ?
हो कलाकार नेता पत्रकार सबै चढे पहिले । अहिले सफारीमा चढ्छन् । रिक्सावाला टाठ पल्टिसक्यौ । रक्सी खान पनि पैसा पुग्दैन् ।

रक्सी धेरै खानुहुन्छ कि क्या हो ?
खाईन्छ एकदुई बोतल । रक्सी नखाई निदाउनु । थकाई मार्छ ।

पैसा त रक्सी मै सकिन्छ जस्तो छ नि ?
कमाएकै खानलाई त हो नि हजुर।

फिल्म पनि खेल्नुभएको रैछ नि ?
हो खेलेको छु । हाँ हाँ हाँ भुतको रोलमा ।

रमाइलो गर्नुपरे कसरी गर्नुहुन्छ ?
त्यही त हो, मासु–भात खाइन्छ । पाइयो भने ट्वाँक (रक्सी) बजाइन्छ।

सहरको रमझम, धनी मानिसहरू देख्दा कस्तो लाग्छ ?
मन हो हजुर, आफूलाई पनि रमाइलो गर्न रहर लाग्छ। धनी बन्न मन लाग्छ।

नेपालको सबैभन्दा धनी व्यक्तिसँग कति पैसा होला, अनुमान गर्नुहोस् त ?
होला नि, लाखौं रुपैयाँ।

के गर्दा धनी बन्न सकिएला ?
थाहा छैन, दिनरात काममा घोटिँदा पनि आफूलाई खान पुग्ने होइन। साँच्चै कसरी कमाउँछन् पैसा, कहिलेकाहीं म पनि सोच्छु।

कुन बेला खुसी एवं सन्तुष्टि मिल्छ ?
मज्जाले रिक्सा चढ्ने मान्छे पाइयो भने खुसी भइन्छ।

रिक्सा यतिका वर्ष बिताइसक्नु भयो, कुनै दिन यस्तो छ जुन बेला तपाईं एकदमै खुसी हुनुभएको थियो?
खै, त्यस्तो त छैन। सधैं उही हो। रिक्सा चलाउने मुलालाई केको खुसी हुनुपर्‍यो र ?

गरिब, सर्वहारा वर्गको जीवनस्तर उकास्ने कुरा गरेका छन् नि नेताहरूले ?
त्यो त मलाई थाहा भएन, बुझिँदैन पनि त्यस्ता कुरा।

संविधानको कुरा सुन्नुभएको छ ?
संविधान बन्यो भन्ने सुन्या हुँ।

तपाईंको विचारमा के होला संविधान भनेको ?
कानुन बनाउने कुरा हो भन्थे, आफूलाई त राम्रोसँग थाहा पनि छैन । तपाईं आफै मिलाएर लेखिदिनुहोस् न।

जातीयता, संघीयता, समावेशी भन्ने कुरा सुन्नुभो ?
अहँ, छैन।

क्षेत्री–बाहुनले तपाईंलाई कति हेपेजस्तो लाग्छ ?
त्यस्तो लाग्दैन । मेरा क्षेत्री–बाहुन साथीहरू पनि छन् तर ट्वाकेहरू (रक्सी पिउने)।

प्रचण्डको नाम सुन्नुभएको छ ?
नेता होइन, माओवादीको ? धेरैले कुरा गरेको सुन्या छु। टेलिभिजनमा पनि देखिन्छ।

नेताहरूले देश वदल्ने कुरा गरिरहेका छन्, जनतालाई सुख दिने कुरा गरेका छन् यी कुरामा तपाईंलाई चासो लाग्दैन ?

खै, खासै पत्यार लागेन।

के छ योजना अरु ?
केहि छैन सकुन्जेल रिक्सा चलाउने । नसकेको दिन देखा जाएगा ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...