रमाइलो प्रहरी चौकीको चारमहिने अभियान : ५१ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ

मोरङ । मोरङको कानेपोखरी क्षेत्रमा ब्राउन सुगर तथा लागूऔषध नियन्त्रणका लागि रमाइलो प्रहरी चौकीले सञ्चालन गरेको अभियान प्रभावकारी देखिएको छ। चौकीका प्रहरी नायव निरीक्षक (प्रनानि) सदानन्द कुमार यादवको नेतृत्वमा गत चैत २८ गतेदेखि सञ्चालन गरिएको अभियानअन्तर्गत चार महिनाको अवधिमा ५१ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेका छन्।
यादवले रमाइलो प्रहरी चौकीको जिम्मेवारी सम्हालेपछि लागूऔषधविरुद्ध अभियानलाई प्राथमिकतामा राख्दै विभिन्न स्थानमा निगरानी तथा कारबाही तीव्र बनाएका हुन्। चार महिनाको अवधिमा ठूलो संख्यामा लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ परेपछि स्थानीयवासीसमेत खुशी भएका छन्।
अभियानलाई प्रभावकारी बनाउन प्रहरी सहायक हवल्दार पञ्चलाल श्रेष्ठ र प्रहरी जवान अजय कार्कीको भूमिका महत्वपूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। विशेष सूचना संकलन गर्ने प्रहरी कर्मचारीबाट प्राप्त सूचनाको तत्काल विश्लेषण गरी फिल्डमा टोली परिचालन गर्ने प्रहरी नेतृत्व र प्रत्यक्ष कारबाहीमा खटिने प्रहरी कर्मचारीबीचको समन्वयले सफलता हासिल भएको कानेपोखरी–६ का अध्यक्ष खड्गबहादुर बस्नेतले बताए।
प्रहरीका अनुसार पछिल्ला कारबाहीमा विष्णु शेर्पा, अर्जुन माझी, मनिष माझी, अकेश माझी, सुस्मिता लिम्बू, लोकेश घले, प्रज्वल राई, राज विश्वकर्मा, अन्जान जिमी, पवन राई, आशिष लिम्बू, टंकप्रसाद राई, मिनेस घिमिरे, रेवत कार्की र सुजन ऋषिदेवलगायतलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।
पछिल्लो कारबाहीका क्रममा रेवत कार्की र सुजन ऋषिदेवबाट ११.३६ ग्राम ब्राउन सुगर, ६३ हजार ४ सय ८५ रुपैयाँ नगद तथा सुनचाँदीलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधको प्रयोग तथा कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र सूचना संकलनलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने जनाएको छ।

















