फुटबलभन्दा माथि मानवता : मेस्सी फ्यान नेपालका समर्थकहरूले पशुपति क्षेत्रमा गरे वृहत् सरसफाई

काठमाडौं,- “समर्थनभन्दा माथि सेवा, फुटबलभन्दा माथि मानवता” भन्ने मूल नारालाई आत्मसात् गर्दै मेस्सी फ्यान नेपालका समर्थकहरूले शनिबार पशुपति क्षेत्रमा वृहत् सरसफाई अभियान सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आयोजना गरिएको उक्त अभियान बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको थियो। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा समूहका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हिमाली सञ्चार डट कमका अध्यक्ष हरि बानियाँ रहेका थिए। सहभागीहरूले फुटबलप्रतिको समर्थन केवल खेलमै सीमित नभई समाजसेवासँग पनि जोडिन सक्ने सन्देश दिँदै सरसफाई अभियानलाई सफलतापूर्वक सम्पन्न गरेका थिए।
मेस्सी फ्यान नेपालका समर्थकहरूले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। केही दिनअघि मात्र यस समूहले मानव सेवा आश्रममा आश्रित बालबालिकालाई भोजन गराउनुका साथै खेलकुद सामग्री वितरण गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो। सोही सेवामूलक अभियानलाई निरन्तरता दिँदै यसपटक पशुपति क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सरसफाई अभियान सम्पन्न भएपछि हिमाली सञ्चार डट कम र क्वालिटी खबरलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको भन्दै पशुपति विकास क्षेत्र कोषलाई पनि ‘टोकन अफ लभ’ प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूका लागि खानपिनको व्यवस्था गरिएको थियो। आयोजकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, मानवीय तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


















