आज : २०२६-०७-०९, बिहीबार

रङ्गेलीमा ३५० घण्टे आधारभूत सिलाई–कटाई तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन जोड

मोरङ–  मोरङको रङ्गेली नगरपालिकाले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको ३५० घण्टे पहिलो चरणको आधारभूत सिलाई–कटाई तालिम सम्पन्न गरेको छ।

रङ्गेली नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैँचा को आयोजनामा सञ्चालन भएको तालिममा २० जना महिलाको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुजित मण्डल, मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपाने, प्रशिक्षक रेखा साह, वडा सदस्य सरस्वती बहरदार, प्रशिक्षक आस्था साह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुजित मण्डलले महिलालाई स्वरोजगार बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताए। सहभागीहरूको मागलाई ध्यानमा राख्दै आगामी दिनमा थप तीन महिनाको उन्नत सिलाई–कटाई तालिम सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

उनले आधारभूत तालिम मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यावसायिक दक्षता हासिल गर्न थप अभ्यास र उन्नत तालिम आवश्यक पर्ने बताए। त्यसका लागि वडा कार्यालयबाट आवश्यक समन्वय र पहल गरिने उनको भनाइ थियो।

मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपानेले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर गाउँमै बसेर आयआर्जनको माध्यम बनाउन सहभागी महिलालाई आग्रह गरिन्। “प्रमाणपत्रभन्दा पनि सीपलाई व्यवहारमा उतार्नु महत्त्वपूर्ण हो। निरन्तर अभ्यास गरे महिलाहरू आत्मनिर्भर बन्न सक्छन्,” उनले भनिन्।

प्रशिक्षक रेखा साहले छोटो अवधिमै सहभागीहरूले आधारभूत सिलाई–कटाईको सीप राम्रोसँग सिकेको बताउँदै नियमित अभ्यास र थप तालिममार्फत उनीहरूले व्यावसायिक दक्षता हासिल गर्न सक्ने विश्वास व्यक्त गरिन्।

सहभागी महिलाहरूले आधारभूत तालिमले आत्मविश्वास बढाएको भए पनि व्यावसायिक रूपमा काम गर्न थप तीन महिनाको उन्नत तालिम आवश्यक रहेको बताए। साथै, तालिमपछि निःशुल्क सिलाई मेसिन उपलब्ध गराइदिन नगरपालिकासँग आग्रह गरेका छन्।

उनीहरूका अनुसार सिलाई मेसिन उपलब्ध भए घरमै बसेर व्यवसाय सञ्चालन गर्न सहज हुने, आम्दानी वृद्धि हुने र परिवारको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।