उत्कृष्ट सेवासँगै लुम्बिनी विकास बैंक रङ्गेली शाखाद्वारा १९औँ वार्षिकोत्सव मनाइयो

मोरङ – मोरङको रङ्गेली नगरपालिका–७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैंक लिमिटेड, रङ्गेली शाखाले आफ्नो १९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।
वि.सं. २०६४ सालमा रङ्गेलीमा निजी बैंकका रूपमा सेवा सुरु गरेको बैंकले वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा समाजसेवी मनोज अग्रवाल ले रङ्गेलीमा प्रारम्भिक चरणदेखि नै सेवा विस्तार गरेको लुम्बिनी विकास बैंकले नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बताए। उनले आगामी दिनमा पनि सेवाग्राहीमैत्री सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
स्थानीय बुद्धिजीवी मछिन्द्र कटुवाल ले बैंकसँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गर्दै बैंकले सेवाग्राहीलाई सम्मान, आत्मीयता र विश्वासका साथ सेवा प्रदान गर्दै आएको बताए। उनले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै बैंकको प्रशंसा गरे।
शाखा प्रबन्धक दुर्गेश रौनियार ले १९औँ वार्षिकोत्सव केवल उत्सव नभई सेवाग्राहीप्रतिको प्रतिबद्धता दोहोर्याउने अवसर भएको बताए। उनले आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवामार्फत ग्राहकको विश्वास अझ मजबुत बनाउँदै लैजाने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवको अवसरमा रङ्गेली–७ निवासी ७ वर्षीय अनमोल कटुवाल बाट केक काटेर स्थापना दिवस मनाइएको थियो।
कार्यक्रममा समाजसेवी मछिन्द्र कटुवाल, मनोज अग्रवाल, प्रकाश चिरानिया, वेदमणि घिमिरे, राजेश गोल्यान, शाखा प्रबन्धक दुर्गेश रौनियार, बैंकका कर्मचारी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


















