आज : २०२६-०७-०८, बुधबार

सिजुवा प्रहरीले १८० केजी बेवारिसे माछा बरामद गरी नष्ट गर्‍यो

मोरङ, –मोरङको रतुवामाई नगरपालिका–८ झुनामारी क्षेत्रमा बेवारिसे अवस्थामा छाडिएको करिब १८० किलोग्राम विभिन्न जातका माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।

बुधबार साँझ करिब ६:३० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उर्लाबारी–भद्रचोक भित्री सडकखण्डको छेउमा निलो तिर्पालले छोपेर राखिएको बेवारिसे माछा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको विभिन्न जातका माछाको अनुमानित बजार मूल्य करिब ८५ हजार रुपैयाँ रहेको छ। गुणस्तर तथा स्रोत पुष्टि हुन नसकेपछि जनस्वास्थ्यलाई ध्यानमा राख्दै जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनेर माछा नष्ट गरिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

प्रहरीले उक्त माछा कसले, किन र कहाँबाट ल्याएर बेवारिसे अवस्थामा छाडेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।