आज : २०२६-०७-०८, बुधबार

बुबाको निधनपछि घरको जिम्मेवारीसँगै पढाइलाई निरन्तरता दिँदै आएकी १२ वर्षीया प्रियङ्कालाई शैक्षिक सामग्री हस्तान्तरण

मोरङ- रंगेली नगरपालिका–६, गोडी टोलको एउटा सानो टिनको घरमा बस्ने बहरदार परिवारको जीवन गरिबी र संघर्षबीच बितिरहेको छ। चार वर्षअघि परिवारका अभिभावक चन्द्रिका बहरदारको असामयिक निधन भएपछि श्रीमती कुन्ती देवी बहरदारमाथि तीन सन्तानको पालनपोषण र शिक्षाको सम्पूर्ण जिम्मेवारी एक्लै आइपरेको थियो।

दैनिक ज्यालामजदुरी गरेर परिवार धान्दै आएकी कुन्ती देवीका लागि दुई छाक खानाको जोहो गर्नसमेत कठिन हुँदै गयो। आर्थिक अभावकै कारण जेठी छोरी रेनु बहरदारले कक्षा ६ मै पढाइ छोड्न बाध्य भइन्। आफ्ना सपना त्यागेर उनी आमासँगै मजदुरी गर्न लागिन्, ताकि भाइबहिनीको पढाइ नरोकियोस्।

हाल कान्छी छोरी प्रियङ्का कुमारी बहरदार रंगेलीस्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् भने उनका दाजु कन्याहा बहरदार कक्षा ९ मा अध्ययनरत छन्।

प्रियङ्काको दैनिक संघर्ष

१२ वर्षीया प्रियङ्काको दिन अरू बालबालिकाजस्तो सहज छैन। बिहान सबेरै उठेर घर सफा गर्ने, पानी ल्याउने, दाजुका लागि खाना पकाउने, भाँडा माझ्ने र घरका सबै काम सकेपछि मात्र उनी विद्यालय जान्छिन्।

विद्यालयमा उनी मेहनती र अनुशासित छात्राका रूपमा परिचित छिन्। तर उनको मुस्कानभित्र लुकेको संघर्ष धेरैलाई थाहा छैन।

प्रियङ्काका अनुसार उनकी आमा र दिदी रोजगारीका लागि सुनसरीमा मजदुरी गर्दै बस्छन्। घरमा उनी र दाजु मात्रै बस्ने भएकाले सम्पूर्ण घरायसी जिम्मेवारी उनकै काँधमा छ।

विद्यालयबाट फर्किएपछि पनि उनको काम सकिँदैन। खाना पकाउने, सरसफाइ गर्ने र अन्य घरायसी काम पूरा गरेपछि मात्र उनी मधुरो बत्तीको उज्यालोमा पढ्न बस्छिन्।

म धेरै पढ्न चाहन्छु। राम्रो मान्छे बनेर आमाको दुःख कम गर्न चाहन्छु,” प्रियङ्काले भनिन्।

सद्भाव बचतको सहयोग

विद्यालयबाट प्रियङ्काको संघर्षबारे जानकारी पाएपछि रंगेलीस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले विद्यालयमै पुगेर उनलाई झोला, कापी तथा अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरेको छ।

संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले गरिबीका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए।

प्रियङ्का जस्ता मेहनती विद्यार्थीलाई आर्थिक अभावका कारण पढाइ रोक्न दिनु हुँदैन। उनले अध्ययनलाई निरन्तरता दिए हाम्रो संस्थाले कक्षा १० सम्म आवश्यक शैक्षिक सहयोग गर्नेछ,” ठाकुरले बताए।

विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार साहका अनुसार प्रियङ्का अत्यन्त अनुशासित, लगनशील र अध्ययनप्रति समर्पित विद्यार्थी हुन्।

उनको संघर्षले हामी सबैलाई भावुक बनाउँछ। यस्ता विद्यार्थीलाई समाजले साथ दिन सके उनीहरू भविष्यमा अवश्य सफल बन्न सक्छन्,” प्रधानाध्यापक साहले भने।

प्रियङ्काको कथा केवल एउटा बालिकाको संघर्ष मात्र होइन, आर्थिक अभावका बीच पनि शिक्षा छोड्न नचाहने हजारौं बालबालिकाको प्रतिनिधि कथा हो। यस्ता विद्यार्थीलाई समाज, स्थानीय सरकार र विभिन्न संस्थाको साथ मिलिरहे उनीहरूको भविष्य उज्यालो बन्ने विश्वास गरिएको छ।