आधुनिक बजार भवन बने पनि दोहाना बजारका तरकारी व्यापारी अझै टेन्टमुनि

मोरङ मोरङको रंगेली नगरपालिका–९ स्थित ऐतिहासिक दोहाना बजारमा आधुनिक बजार भवन निर्माण भएर सञ्चालनमा आए पनि तरकारी तथा सब्जी व्यवसायीहरू अझै टेन्ट र तिरपालमुनि व्यापार गर्न बाध्य छन्।
बजार व्यवस्थापन प्रभावकारी हुन नसक्दा दशकौँदेखि व्यापार गर्दै आएका किसान तथा व्यवसायीले गर्मी, वर्षा र हावाहुरीको जोखिमबीच खुला स्थानमै व्यवसाय सञ्चालन गरिरहेका छन्। हाल उनीहरूले प्रत्येक आइतबार र बिहीबार अस्थायी टेन्ट टाँगेर तरकारी बिक्री गर्दै आएका छन्।
स्थायी टहरा र आवश्यक पूर्वाधारको अभावका कारण व्यापार सञ्चालनमा कठिनाइ भएको व्यवसायीहरूको गुनासो छ। खुला स्थानमा व्यापार गर्नुपर्दा उपभोक्ताले पनि असहज रूपमा किनमेल गर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।
करिब ३५ वर्षदेखि तरकारी व्यापार गर्दै आएकी उर्मिला देवी यादवका अनुसार व्यवस्थित बजारको अभाव पुरानै समस्या हो। “गर्मीमा चर्को घाम र वर्षायाममा पानीका कारण व्यापार गर्न निकै कठिन हुन्छ,” उनले भनिन्।
अर्की व्यवसायी बिना देवी राजवंशीले वर्षा हुँदा अरूको टहरामुनि आश्रय लिनुपर्ने अवस्था आउने गरे पनि सधैं त्यहाँ बस्न नपाइने समस्या रहेको बताइन्।
व्यापारीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित टहरा नहुँदा दैनिक व्यापार प्रभावित भइरहेको छ। सार्वजनिक शौचालय प्रयोग गर्दा समेत रकम तिर्नुपर्ने अवस्था रहेको भन्दै उनीहरूले गुनासो गरेका छन्। खुला स्थानमा तरकारी बिक्री गर्नुपर्दा खाद्य स्वच्छता तथा उपभोक्ताको सुविधामा समेत असर परेको उनीहरूको भनाइ छ।
रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहले सब्जी मण्डीका लागि स्थायी टहरा निर्माण गर्न टेन्डर आह्वान प्रक्रिया सुरु भइसकेको जानकारी दिए। चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको उनले बताए।
सार्वजनिक शौचालयमा शुल्क असुली भइरहेको जानकारी पाए कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ। सार्वजनिक शौचालय सबै नागरिकले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था रहेको भन्दै अनधिकृत रूपमा शुल्क असुल्न नपाइने उनले स्पष्ट पारे।
स्थानीय किसान तथा व्यवसायीले नगरपालिकाले घोषणा गरेका योजना समयमै कार्यान्वयन भए वर्षौँदेखिको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले दोहाना बजारलाई व्यवस्थित कृषि उपज बजारका रूपमा विकास गर्न स्थायी टहरा, व्यवस्थित स्टल तथा अन्य आधारभूत पूर्वाधार निर्माणमा ढिलाइ नगर्न नगरपालिकासँग आग्रह गरेका छन्।



















