इच्छा छोरीलाई शिक्षा’ अभियान अन्तर्गत रंगेलीमा ‘छात्रासँग उपमेयर’ कार्यक्रम सम्पन्न

मोरङ – रंगेली नगरपालिकाले ‘इच्छा छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ बालिका शिक्षाको प्रवर्द्धन, नेतृत्व विकास र लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले एकदिवसीय ‘छात्रासँग उपमेयर’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी छात्राहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले नगरपालिकाले स्कुल ब्याग, ज्यामिति बक्स तथा डायरी वितरण गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहले शिक्षित छोरी नै समुन्नत परिवार, समाज र राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै छात्राहरूलाई आत्मविश्वासी, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गरे। उनले डिजिटल युगमा प्रविधिको सही प्रयोग आवश्यक भए पनि सामाजिक सञ्जालको दुरुपयोगबाट सचेत रहनुपर्नेमा जोड दिए। स्थानीय सरकारले शिक्षा, महिला सशक्तीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आएको पनि उनले बताए।
कार्यक्रममा महिनावारी स्वास्थ्य, बालअधिकार, लैङ्गिक समानता, नेतृत्व विकास, आत्मरक्षा तथा व्यक्तित्व विकासका विषयमा अभिमुखीकरण गरिएको थियो। किशोरावस्थामा हुने शारीरिक परिवर्तन, महिनावारीका बेला अपनाउनुपर्ने स्वास्थ्य सावधानी, स्यानिटरी प्याडको सही प्रयोग तथा व्यक्तिगत सरसफाइका विषयमा सहभागी छात्राहरूलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो। साथै महिनावारीलाई लाज वा डरको विषय नभई प्राकृतिक प्रक्रिया मान्दै पौष्टिक आहार र सरसफाइमा विशेष ध्यान दिनुपर्ने सन्देश दिइएको थियो।
विद्यालयकी शिक्षिका जमुना घिमिरेले किशोरावस्थामा रहेका कक्षा ८ का छात्राहरूका लागि कार्यक्रम अत्यन्त समयसान्दर्भिक भएको बताइन्। विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै महिनावारी स्वास्थ्य र सामाजिक सञ्जालका चुनौतीबारे व्यावहारिक जानकारी प्राप्त हुँदा छात्राहरूको आत्मविश्वास बढेको उनको भनाइ थियो।
सहभागी छात्राहरूले विद्यालय र घरबाहिरका विषय तथा आफ्ना अधिकारबारे प्रत्यक्ष जानकारी पाउने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे। उपमेयर तथा नगरपालिकाका अधिकारीहरूसँग आफ्ना जिज्ञासा राख्न पाएको, महिनावारी प्राकृतिक प्रक्रिया भएको बुझ्न पाएको तथा सरसफाइ र पोषणसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको उनीहरूले बताए।
रंगेली नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कार्यवाहक नगर प्रमुख (उपमेयर) भुमा कुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा रंगेली नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


















