कुवेतको अस्पतालमा तीन महिनादेखि जीवन–मरणको संघर्षमा नेपाली चेली, उद्धारको पर्खाइमा

कुवेत – कुवेतस्थित जाहारा अस्पतालमा उपचाररत नेपाली नागरिक बिस्नु कुमारी बिक विगत करिब तीन महिनादेखि गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेकी छन्। उनी कुवेतमा घरेलु कामदार (हाउसमेड) का रूपमा कार्यरत रहेकी थिइन्।
प्राप्त जानकारीअनुसार उनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक छ। चिकित्सकले उनको घाँटीमा प्वाल पारेर श्वासप्रश्वास गराउने (ट्रेकियोस्टोमी) प्रक्रिया गरेका छन् भने नाकमार्फत खाना खुवाइँदै आएको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन्। लामो समयसम्म सघन उपचार कक्ष (आईसीयू) मा राखिएपछि हाल सामान्य वार्डमा सारिएको जनाइएको छ।
जानकारीअनुसार उनलाई उनका रोजगारदाताले (स्पोन्सर) अस्पतालमा भर्ना गराएका थिए। हालसम्म अस्पतालले नै उनको उपचार र हेरचाह गरिरहेको बताइएको छ। तर, उनको परिवारसँग सम्पर्क स्थापित हुन नसकेको र आफन्तसमेत अस्पताल पुग्न नसकेको जानकारी प्राप्त भएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, उद्धार तथा कूटनीतिक जिम्मेवारीप्रति पुनः गम्भीर प्रश्न उठाएको छ। स्थानीय स्रोतका अनुसार हालसम्म नेपाली दूतावासका प्रतिनिधि अस्पतालमा पुगेको जानकारी प्राप्त नभए पनि यस विषयमा दूतावासको आधिकारिक धारणा सार्वजनिक भएको छैन।
युवा शक्ति टिम कुवेतका सचिव राम भट्टराईका अनुसार बिस्नु कुमारी बिकको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। उनले सम्बन्धित निकायले तत्काल आवश्यक पहल गरी बिरामीको उद्धार तथा परिवारसँग समन्वय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
बिस्नु कुमारी बिकको पारिवारिक सम्पर्कब
तत्काल स्थापित गरी उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिन, आवश्यक कानुनी, मानवीय तथा कूटनीतिक सहयोग उपलब्ध गराउन तथा आवश्यक परे उद्धार प्रक्रिया अघि बढाउन कुवेतस्थित नेपाली दूतावास र सम्बन्धित निकायसँग नेपाली समुदायले आग्रह गरेका छन्।
यसैबीच, बिस्नु कुमारी बिकलाई चिन्ने वा उनका परिवार तथा आफन्तबारे जानकारी हुने जो–कोहीले सम्बन्धित निकाय वा कुवेतस्थित नेपाली दूतावाससँग सम्पर्क गरी आवश्यक समन्वय गर्न अनुरोध गरे।



















