आज : २०२६-०८-०७, शुक्रबार

काली मन्दिरको प्राङ्गणमा सामूहिक योग अभ्यास गर्दै विश्व योग दिवस मनाइयो

रंगेली, -मोरङको रंगेलीस्थित काली मन्दिरको प्राङ्गणमा सामूहिक योग अभ्याससहित १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ। पतञ्जलि योग नगर समिति रंगेलीको आयोजनामा सप्ताहव्यापी योग शिविर सम्पन्न भएको हो।

“योगश्चित्तवृत्ति निरोधः” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै योगमार्फत नागरिकलाई स्वस्थ, अनुशासित र निरोगी जीवनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

शिविर पतञ्जलि योग नगर समिति रंगेलीको आयोजना तथा रंगेली नगरपालिका, वडा नं. ७ को कार्यालय, पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ र आयुर्वेद सेवा केन्द्र मोरङको समन्वय तथा सहयोगमा सम्पन्न भएको थियो।

सप्ताहव्यापी शिविरमा सहभागीहरूलाई योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा “योग गरौँ, निरोगी रहौँ”, “घर–घर जाऔँ, योग सिकाऔँ” तथा “स्वस्थ वृद्धावस्थाका लागि योग” जस्ता सन्देश प्रवाह गरिएको थियो।

अन्तर्राष्ट्रिय योग दिवसलाई सफल बनाउन आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, स्काउटका बालबालिका, कराते खेलाडी, जनप्रतिनिधि, योग प्रशिक्षक, योग साधक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। पछिल्लो समय नेपालमा पनि योगप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको उनीहरूको भनाइ थियो।

सहभागीहरूले सामूहिक रूपमा योग तथा प्राणायाम अभ्यास गर्दै विश्व योग दिवसको सन्देश समुदायस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।