रास्वपा महाधिवेशनलाई लक्षित गर्दै भरतपुर ‘हाई अलर्ट

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा कडा सुरक्षा व्यवस्था गरिएको छ। भरतपुरमा असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि १ हजार ८७ जना जनपद प्रहरी परिचालन गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार महाधिवेशनको सुरक्षालाई मध्यनजर गर्दै खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति तयार गरिएको छ। कार्यक्रम अवधिभर कुनै पनि सुरक्षा चुनौती आउन नदिन आवश्यक तयारी पूरा गरिएको उनले बताए।
महाधिवेशनका क्रममा सवारीसाधनको चाप बढ्ने अनुमान गर्दै ट्राफिक व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। सहभागी तथा आगन्तुकहरूको सहज आवागमन सुनिश्चित गर्न विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भरतपुरस्थित वीरेन्द्र क्याम्पस पछाडिको चौर तथा भरतपुर केन्द्रीय बसपार्कमा सहभागीहरूले ल्याउने ठूला सवारीसाधन पार्किङ गर्ने व्यवस्था गरिएको छ।
रास्वपा चितवनका सभापति मिनि माधव खनालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ३ हजार ५०० देखि ४ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। त्यस्तै उद्घाटन सत्रमा करिब ४० हजार सर्वसाधारण तथा समर्थकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सुरक्षा निकाय तथा आयोजक पक्षले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ।


















