आज : २०२६-०६-१५, सोमबार

मकैको भाउ ओरालो, किसान र व्यापारी दुवै पीडित

 मोरङ- देशभर वैशाखयता लगातार भइरहेको वर्षाका कारण मकै किसानहरू समस्यामा परेका छन्। खेतमा पाकेर तयार भएको मकै समयमै भित्र्याउन, दाउनी गर्न तथा सुकाउन नसक्दा कतिपय स्थानमा मकैका घोगा नै बोटमै उम्रिन थालेका छन्। सडक किनार र खुला चौरमा मकै सुकाउने प्रयास भए पनि निरन्तरको वर्षाले किसानहरूको मेहनत खेर जाने अवस्था सिर्जना गरेको छ।

मोरङको रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायतका क्षेत्रमा यस वर्ष मकै उत्पादन राम्रो भए पनि लगातारको वर्षा र बजार मूल्यमा आएको गिरावटले किसान चिन्तित बनेका छन्। उत्पादन लागत बढ्दै गएको अवस्थामा उचित मूल्य नपाउँदा लगानीसमेत उठाउन कठिन भएको किसानहरूको गुनासो छ।

रंगेलीका किसान विकासकुमार मण्डलका अनुसार यस वर्ष मकै राम्रो फलेको भए पनि वर्षाका कारण खेतबाट घरसम्म ल्याउन र सुकाउन समस्या भएको छ। व्यापारीहरूले कम मूल्य प्रस्ताव गरेपछि लगानी उठाउनै कठिन भएको उनको भनाइ छ। “मकै भित्र्याउन ढिलाइ हुँदा कतिपय घोगा बोटमै उम्रिन थालेका छन्। धेरै मेहनत गरेर उत्पादन गरेको बाली यसरी नष्ट हुन थालेपछि किसान निराश भएका छन्,” उनले भने। यस्तै अवस्था रहे आगामी वर्ष मकै खेतीको सट्टा अन्य बाली लगाउने सोच बनाएको उनले बताए।

अर्का किसान बिशेश्वर मण्डलले मल, बीउ, सिँचाइ तथा मजदुरी खर्च निरन्तर बढ्दै गए पनि मकैको बजार मूल्य घटेकाले किसान मारमा परेको बताए। उनले मकै भित्र्याउन स्थानीय मजदुर नपाएपछि कर्सिया क्षेत्रबाट मजदुर ल्याएर प्रतिव्यक्ति ६ सय रुपैयाँ ज्याला तथा खानाको व्यवस्था गर्नुपरेको जानकारी दिए।

किसानहरूका अनुसार विगतका वर्षमा प्रतिक्विन्टल ३ हजार २ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने मकै यस वर्ष २ हजार ५ सयदेखि २ हजार ८ सय रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था आएको छ। व्यापारीहरूले मनोमानी रूपमा मूल्य निर्धारण गर्ने गरेको आरोपसमेत किसानहरूको छ।

उचित मूल्य नपाएपछि धेरै किसानले मकै घरमै भण्डारण गरेर राखेका छन्। रंगेलीकी प्रेमा देवी मण्डलले अहिलेको सस्तो मूल्यमा बिक्री गर्नुभन्दा केही समय घरमै राखेर मूल्य बढेपछि बेच्ने योजना बनाएको बताइन्।

यता व्यापारीहरू पनि समस्यामा परेको बताउँछन्। रंगेलीका व्यापारी मनोजकुमार साहका अनुसार मकैको मूल्य घट्नुले किसान मात्र होइन, व्यापारीहरू पनि प्रभावित भएका छन्। उनका अनुसार विगतमा सनपाटको बोरा प्रतिगोटा २५ रुपैयाँमा खरिद हुने गरेकामा अहिले त्यही बोराको मूल्य ५० रुपैयाँ पुगेको छ। त्यस्तै, प्याकेजिङ तथा लोड–अनलोड खर्च पनि प्रतिगोटा १५ रुपैयाँबाट बढेर २०–२२ रुपैयाँ पुगेको छ।

उनले विराटनगर बजारमा मकैको खरिद मूल्य प्रतिक्विन्टल करिब २ हजार ८ सय रुपैयाँ मात्रै रहेकाले स्थानीय व्यापारीहरूलाई पनि कम मूल्यमा खरिद गर्न बाध्य हुनुपरेको बताए। डिजेल, पेट्रोल तथा ढुवानी खर्चसमेत बढेकाले व्यापार सञ्चालनको लागत उच्च भए पनि मकैको मूल्य नबढ्दा नाफा गर्न कठिन भएको उनको भनाइ छ।

साहका अनुसार उनले सुरुमा प्रतिक्विन्टल २ हजार ८ सय ५० रुपैयाँमा मकै खरिद गरेका थिए। तर पछिल्लो समय मूल्य घटेपछि अहिले आफ्नै गोदाममा ५ सय क्विन्टलभन्दा बढी मकै मौज्दात रहेको बताए।

लगातारको वर्षा, उत्पादन लागतमा वृद्धि र बजार मूल्यमा आएको गिरावटका कारण यस वर्ष मकै किसान र व्यापारी दुवै दोहोरो मारमा परेका छन्। किसानहरूले कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा बजार व्यवस्थापनमा सरकारको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन्।