News Portal

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

११३ पटक

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ। शैक्षिक सत्र २०८२ सालको नगरस्तरीय कक्षा ८ वार्षिक परीक्षाको नतिजाले नगरभित्रको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको हो।

यस वर्षदेखि रंगेली नगरपालिकाले कक्षा ८ को परीक्षा थप मर्यादित र व्यवस्थित बनाउन छिमेकी विद्यालयका शिक्षक परिचालन गरी परीक्षा सञ्चालन गरेको थियो भने उत्तरपुस्तिका पनि नगरपालिकाको निगरानीमा परीक्षण गरिएको थियो। यसअघि विद्यालयहरूले आफैं परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्दै शतप्रतिशत नतिजा सार्वजनिक गर्ने गरेको अवस्थामा यसपटकको वास्तविक नतिजाले विद्यालयको पठनपाठनको स्तर स्पष्ट पारेको छ।

नगरपालिकाभित्र कक्षा ८ सम्म अध्ययन-अध्यापन हुने सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयका ९ सय ४५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये ४ सय ५४ जना मात्र उत्तीर्ण भएका छन्। शिक्षा शाखा प्रमुख लिला ओझाका अनुसार समग्र उत्तीर्ण प्रतिशत ४८.०४ रहेको छ।

सामुदायिक विद्यालयतर्फ कतिपय विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ। लक्ष्मी आधारभूत विद्यालय दौलतपुर र भगवती माविमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। त्रिभुवन मावि, आदर्श मावि शुक्रबारे, जनता मावि आमतोला, जनता मावि आमगाछी, पब्लिक मावि लगायत विद्यालयहरूको नतिजा पनि निराशाजनक रहेको छ।

पब्लिक माविका प्रधानाध्यापक अर्विन साहले विद्यालयले मेहनतपूर्वक पठनपाठन गराए पनि विद्यार्थीले गृहकार्य नगर्ने, अभिभावकले बालबालिकालाई घरायसी काममा बढी लगाउने, विद्यालयसँग समन्वय नगर्ने जस्ता कारणले नतिजा कमजोर बनेको बताए।

यता रंगेली–४ आमतोलाका स्थानीय आनन्दी साहले विद्यालयका केही शिक्षकले प्रभावकारी रूपमा पढाउन नसकेको, विद्यालय समयमा व्यक्तिगत काम गर्ने, मोबाइलमा व्यस्त रहने तथा आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रवृत्तिले सरकारी विद्यालयप्रति विश्वास घटेको आरोप लगाए।

नगरपालिका कार्यकारी अधिकृत प्रदीप साहले आवश्यक शिक्षक र शैक्षिक सामग्री उपलब्ध गराउँदा पनि यस्तो नतिजा आउनु चिन्ताको विषय भएको बताए। उनले अब विद्यालय प्रशासन, शिक्षक, अभिभावक र शिक्षा शाखाबीच समन्वय गरेर सुधारका लागि विशेष योजना आवश्यक रहेको उल्लेख गरे।

संस्थागत विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा राम्रो भए पनि केही विद्यालयको प्रदर्शन अघिल्ला वर्षभन्दा कमजोर देखिएको छ। सनरे, ज्ञान ज्योति, माउन्ट मकालो, दिव्य ज्योति लगायत विद्यालयले शतप्रतिशत वा उच्च नतिजा ल्याएका छन्।

यस वर्षको परीक्षाफलले रंगेली नगरपालिकाको शिक्षा क्षेत्र सुधारका लागि गम्भीर समीक्षा, शिक्षक उत्तरदायित्व, अभिभावकको भूमिका र विद्यालय व्यवस्थापन समितिको सक्रियता अपरिहार्य रहेको संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...