आज : २०२६-०६-२९, सोमबार

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ। हिमाली संचारका अनुसार कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौंको सुन्दरीजल क्षेत्रमा १३ मिलिमिटर मापन गरिएको छ।

आज विशेषगरी पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। पहाड र हिमालमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने बताइएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र मधेश प्रदेशसहित अन्य प्रदेशका एक–दुई स्थानमा दिउँसोपछि वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार भोलि भने आजको तुलनामा अझ बढी स्थानमा वर्षा हुने सम्भावना रहेको छ।