
काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा परम्परागत सांस्कृतिक पहिरनसहित उपस्थित भएका छन्। उनले किरात समुदायसँग सम्बन्धित ‘सिलाम साक्मा’ लगाएर कार्यक्रममा सहभागिता जनाउँदा उपस्थितहरूको ध्यान खिचिएको थियो।
सामान्य पहिरनभन्दा फरक देखिएको यो पोशाकले केवल बाहिरी आकर्षण मात्र नभई गहिरो सांस्कृतिक सन्देश पनि बोकेको छ। विशेषगरी बालेनको छातीमा सजिएको सिलाम साक्माले सांस्कृतिक पहिचानप्रतिको सम्मान र विविधताप्रतिको स्वीकारोक्ति प्रस्ट पारेको देखिन्छ।
किराती परम्पराअनुसार सिलाम साक्मालाई शुभ संकेतको रूपमा लिइन्छ। यसलाई नकारात्मक शक्ति वा अपशकुनबाट जोगाउने पवित्र चिन्हका रूपमा मानिने भएकाले विशेष अवसर, धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा प्रयोग गर्ने चलन छ।
पछिल्लो समय सार्वजनिक कार्यक्रममा यस्ता सांस्कृतिक पहिरनको प्रयोग बढ्दै जाँदा परम्परा र आधुनिकताको सन्तुलन प्रस्तुत भएको देखिन्छ। बालेनको यो प्रस्तुति पनि सोही सन्देश दिने उदाहरणका रूपमा हेरिएको छ।
यसअघि धरानका मेयर हर्क साम्पाङले पनि सिलाम साक्मा प्रयोग गर्दै यसलाई चर्चामा ल्याएका थिए। त्यसयता विभिन्न क्षेत्र, विशेषगरी कला र चलचित्रमार्फत यसको लोकप्रियता अझ बढ्दै गएको छ।
सिलाम साक्मा के हो?
लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु भन्ने हुन्छ। यस अर्थमा सिलाम साक्मा ‘मृत्युको बाटो छेक्ने’ प्रतीकका रूपमा बुझिन्छ।
यो लिम्बू समुदायको आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण वस्तु हो, जसलाई अतिथि स्वागत, विवाह तथा सार्वजनिक समारोहहरूमा प्रयोग गरिन्छ।
कसरी तयार गरिन्छ?
हातले बुनिने चारकुने संरचनामा तयार गरिने सिलाम साक्माको छेउमा फुर्को राखिन्छ। बासको कप्टेरोमा विभिन्न रङका धागो प्रयोग गरी यसलाई आकर्षक ढंगले बनाइन्छ। धार्मिक विश्वासअनुसार तङ्सिन गरेर प्रयोग गरिने यो वस्तुलाई जीवनको सुरक्षा कवजका रूपमा समेत लिने गरिन्छ।