
काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका जटिल राजनीतिक र राष्ट्रिय मुद्दाहरू पहिला समाधान गर्नुपर्ने अडान दोहोर्याएको छ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ ले केन्द्रीय पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै तत्काल निर्वाचनमा केन्द्रित हुनु भन्दा पहिले राष्ट्रिय सहमति निर्माण आवश्यक रहेको बताएका छन्। उनका अनुसार सहमति बिना चुनावमा जाँदा परिणामपछि विवाद, असन्तोष र अस्थिरता बढ्न सक्ने जोखिम रहन्छ।
राप्रपाले सबै राजनीतिक शक्ति र सरोकारवालालाई समेटेर साझा समझदारीको वातावरण तयार पार्नुपर्नेमा जोड दिएको छ। पार्टीको भनाइमा राष्ट्रिय सहमतिको आधारमा अघि बढ्दा मात्र निर्वाचनले दीर्घकालीन स्थिरता दिन सक्छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष बुद्धिमान तामाङ ले गरेका थिए।
