
दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले समयमै उद्धार गरेको छ। शंकास्पद गतिविधिको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई सुरक्षित अवस्थामा फेला पारेको हो।
उद्धार गरिएकामध्ये दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक तथा रोल्पाका १५ र १३ वर्षीया दुई बालिका रहेका छन्। प्रहरीले उनीहरूलाई संरक्षणमा राख्दै परिवारसँग सम्पर्क र समन्वय सुरु गरेको जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा भारत उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू दाङको घोराही क्षेत्रमा गमला सम्बन्धी काम गर्दै आएको खुलेको छ। पक्राउ परेकामध्ये एक जनासँग काखे बालकसमेत रहेको प्रहरीले जनाएको छ।
बालबालिकालाई भारत किन र के प्रयोजनका लागि लैजान खोजिएको थियो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले मानव बेचबिखनसँग सम्बन्धित कोणबाट समेत अनुसन्धान अघि बढाएको छ।