News Portal

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

२२७ पटक

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल सरकार ,नेपाली दूतावास कुवेत न प्रभावकारी देखिएको छ, न त कुवेतमा क्रियाशील संघ–संस्थाहरूले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छन्।

समय–समयमा १०–१२ जना समस्याग्रस्त घरेलु कामदारको उद्धार गरी नेपाल पठाइए पनि, त्यसभन्दा चार गुणा बढी नेपाली महिलाहरू दैनिक रूपमा अवैधानिक बाटो हुँदै कुवेत भित्रिइरहेका छन्। यसले समस्या झनै विकराल बन्दै गएको देखाउँछ।

रुट परिवर्तन, निगरानी छल्दै मानव तस्करी

यसअघि नेपाल–दुबई–कुवेत रुट प्रयोग हुँदै आएकोमा पछिल्लो समय दुबई र कुवेत दुबै स्थानमा निगरानी कडा भएपछि दलालहरूले रुट नै परिवर्तन गरेका छन्। अहिले काठमाडौँ–दुबई–ओमन–कुवेत हुँदै घरेलु कामदार ओसारपसार भइरहेको स्रोतको दाबी छ। यसरी ट्रान्जिट हुँदै आउँदा महिलाहरूलाई कुवेत आइपुग्न करिब दुई दिन लाग्ने गरेको बताइन्छ।

नेपाल सरकारले घरेलु कामदारलाई औपचारिक रूपमा कुवेत पठाउन प्रतिबन्ध लगाएको दाबी गरे पनि, बिचौलिया र मानव तस्करीमा संलग्न गिरोहहरू भने झनै सक्रिय देखिएका छन्। आफूलाई ‘म्यानपावर व्यवसायी’ वा ‘एजेन्ट’ बताउने केही व्यक्तिहरूले विपन्न परिवारका महिला दिदीबहिनीलाई ललाई–फकाई गरी कुनै तालिम, भाषा ज्ञान वा सीप बिना नै कुवेत ल्याइरहेका छन्।

एजेन्टबाट एजेन्टमा ‘बेचबिखन

घरेलु कामदार कुवेत पुगेपछि एउटा एजेन्टबाट अर्को एजेन्ट हुँदै अन्ततः कुवेती घरमा पठाइने गरिएको पीडितहरूको भनाइ छ। नेपालदेखि कुवेतसम्म ल्याउन लागेको सम्पूर्ण खर्च एजेन्टले नै बेहोर्ने गरेकाले महिलाहरू पूर्ण रूपमा उनीहरूको नियन्त्रणमा पर्ने गर्छन्। कुवेत आइपुगेपछि ती महिलालाई एजेन्ट–एजेन्टबीच ‘बेच्ने’ प्रवृत्ति मौलाउँदै गएको छ।

न भाषा, न सीप, न सुनुवाई

घरेलु कामदारका रूपमा कुवेत आइपुगेका महिलाहरूलाई न त कामको पर्याप्त ज्ञान हुन्छ, न भाषा नै बुझ्छन्। समस्या परेपछि एजेन्टलाई सम्पर्क गर्दा सहयोग नपाउने गुनासो व्यापक छ। अन्ततः धेरै महिला सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत रोइकराइ गर्दै सहायता माग्न बाध्य हुन्छन्। यस्ता भिडियो भाइरल भएपछि मात्रै केही समाजसेवी र व्यक्तिहरू उद्धारमा जुट्ने गरेका छन्, त्यसपछि मात्र दूतावासको चासो देखिने पीडितहरूको आरोप छ।

अवैधानिक रूपमा आएका घरेलु कामदारको नेपाली दूतावास कुवेतमा कुनै आधिकारिक रेकर्डसमेत नरहेको बताइन्छ। उद्धारमा सक्रिय व्यक्तिहरूलाई नै मानव तस्करीमा संलग्न गिरोहहरूले धम्की र गालीगलौज गर्ने गरेको गुनासो पनि सार्वजनिक भएको छ।

महिनामा ४–५ जना नेपाली घरेलु कामदारको शव नेपाल पठिनु सामान्यजस्तै भइसकेको छ। तर न बीमा, न प्रभावकारी छानबिन हुने गरेको पीडित परिवारको आक्रोश छ। “मान्छे मरेको हो कि कसैलाई मतलब छैन,” एक पीडित परिवारको भनाइ छ।

सरकार र दूतावास दुवै जिम्मेवार

यो समस्या केवल नेपाली दूतावास कुवेतको मात्र नभई नेपाल सरकारको गैरजिम्मेवारीको परिणाम भएको सरोकारवालाहरू बताउँछन्। कुवेत सरकारले घरेलु कामदार प्रतिबन्ध नगरेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा ढोका बन्द गर्नु र वैकल्पिक सुरक्षित प्रणाली विकास नगर्नु नै समस्याको जड भएको उनीहरूको ठहर छ।

यदि नेपाल सरकारले निश्चित शुल्क, श्रम स्वीकृति, अनिवार्य तालिम र कुवेत सरकारसँग द्विपक्षीय सम्झौता गरेर घरेलु कामदार पठाउने व्यवस्था गरेमा महिलाको सुरक्षा सुनिश्चित हुनुका साथै राज्यले राजस्वसमेत पाउने देखिन्छ। हाल भने राज्यको खातामा शून्य र दलालहरूको खातामा करोडौं जम्मा भइरहेको आरोप छ।

समाधान कुवेतमा होइन, नेपालमै 

विशेषज्ञहरूका अनुसार यो समस्या कुवेत बसेर मात्र समाधान हुँदैन। नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमै भिसा क्याटेगोरी कडाइका साथ जाँच, वैदेशिक रोजगार विभाग र नेपाली दूतावासबीच प्रभावकारी समन्वय तथा अवैधानिक गिरोहमाथि कडा कारबाही आवश्यक छ।

कुवेतमा क्रियाशील करिब ८५ वटा नेपाली संघ–संस्थाले एकजुट भएर दूतावासमार्फत नेपाल सरकारलाई दबाब दिने हो भने समाधान सम्भव हुने विज्ञहरूको भनाइ छ। तर हालसम्म त्यसतर्फ ठोस इच्छाशक्ति देखिएको छैन।

रोजगारीका लागि विदेश गएका नेपाली चेलीबेटीहरू सुरक्षित छैनन्। दोष कसको ? प्रश्न गम्भीर बनेको छ। अब पनि नेपाल सरकार, नेपाली दूतावास कुवेत र सम्बन्धित निकायहरू गम्भीर नहुने हो भने यो संकट अझ भयावह बन्ने निश्चित देखिन्छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...