
काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले श्रम संस्कृति पार्टी आफ्नै विचार र सिद्धान्तमा आधारित भएर अघि बढ्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले अहिले चुनावी वातावरणका कारण विभिन्न किसिमका चर्चा र अनुमान भइरहेको उल्लेख गरे। तर अरू दल जस्तै मिसावटको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। उनका अनुसार श्रम संस्कृति पार्टीले देशको माटो, ढुंगा र श्रमसँग जोडिएको स्वदेशी सोचको राजनीति गर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएको केही घण्टापछि साम्पाङको प्रतिक्रिया आएको हो। पछिल्लो राजनीतिक घटनाक्रमबीच उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई कसैसँग मिल्ने–नमिल्ने विषयमा भ्रममा नपर्न आग्रह गरेका छन्।
साम्पाङले श्रम संस्कृति पार्टी स्पष्ट दिशासहित एक्लै अघि बढ्ने दोहोर्याउँदै मौलिक र स्वदेशी विचारमै आधारित राजनीति जारी रहने बताएका छन्।