
काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। सहकार्यको सम्भावनाबारे केन्द्रित यो छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा चलिरहेको हिमाली संचारलाई जानकारी प्राप्त भएको छ।
छलफल भित्र जारी रहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङले सहमतिको दबाब दिन अनौठो तरिकाको विरोध जनाएका छन्। उनले छलफल स्थलको गेटमा ताला लगाएको बताएका छन्। सहमति नहुन्जेलसम्म रवि लामिछाने र बालेन शाहलाई बाहिर निस्कन नदिने उनको भनाइ छ।
सुदन गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा सहकार्य देशको आवश्यकता भएको उल्लेख गर्दै दबाब सिर्जना गर्न गेटमा ताला लगाइएको दाबी गरेका छन्। सम्झौता नहुँदासम्म गेट नखोलिने र आफूहरू त्यहीँ निगरानीमा रहने उनले बताएका छन्।
रवि लामिछाने र बालेन शाहबीचको यो भेटले आगामी निर्वाचनमा सम्भावित राजनीतिक सहकार्यको संकेत गर्छ कि गर्दैन भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। यस विषयमा दुवै पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।