
काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित चौथो राष्ट्रिय पूर्वकार्य संवादको उद्घाटन सत्रमा उनले जोखिम पहिचान, पूर्वतयारी र पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिनुपर्ने बताए।
उनका अनुसार पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन जोखिमको स्पष्ट जानकारी, भरपर्दो पूर्वानुमान र त्यसको प्रभावअनुसार सूचना प्रणाली आवश्यक हुन्छ। साथै पूर्वसूचना जारी भएपछि तुरुन्तै कार्यान्वयन हुने योजना र पहिल्यै तयार गरिएको स्रोत साधन अनिवार्य रहेको उनले बताए।
गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोप जोखिमयुक्त मुलुक भएकाले पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत र दीर्घकालीन रूपमा मजबुत बनाउनु जरुरी रहेको बताए।