
काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट हटाएको छ। सरकारलाई दबाब दिन माइतीघर पुगेका उक्त समूहका केही जेनजी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिएको भए पनि समूह सडक आन्दोलनमा उत्रिएपछि प्रहरी सक्रिय भएको हो। सो क्रममा केही व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरी भ्यानमार्फत सुरक्षित स्थानमा लगिएको छ।
प्रहरीका अनुसार मिराज ढुंगाना समूहले सोमबार बिहान करिब १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर प्रदर्शनको अनुमति मागेको थियो। तर, सुरक्षाका कारण देखाउँदै प्रशासनले अनुमति दिएको थिएन।
अनुमति नपाए पनि प्रदर्शन गर्न माइतीघर पुगेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। मिराज ढुंगाना समूहले सर्वदलीय सरकार गठनको माग गर्दै आजदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
