
काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई बिर्सन नहुने बताएकी छन्। आइतबार बालुवाटारमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको संस्कृति र परम्परा विशेष र मौलिक भएको उल्लेख गर्दै यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भने कि संस्कृतिमा रहेका हानिकारक प्रथाहरूलाई हटाउन आवश्यक भए पनि परम्परागत पोशाक र मौलिक पहिचान कायम राख्नुपर्छ। सरकारी कार्यालयमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउनु उपयुक्त हुने उनले सुझाव दिइन्।
भेटमा परिषद्ले आउँदो पुस १५ गते हुने तमु ल्होसार कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री कार्कीलाई आमन्त्रित गरेको जानकारी पनि दिइएको छ।