
काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन नै एकमात्र उपाय भएको बताएकी छन्।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक अभ्यास, सुशासन र स्थायित्वका लागि समयमै निर्वाचन हुनुपर्नेमा जोड दिइन्। प्रधानमन्त्री कार्कीका अनुसार देशलाई सही दिशामा लैजान संविधानअनुसारको निर्वाचन अपरिहार्य छ।
उनले २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ तयारी अघि बढाइसकेको जानकारी दिइन्। निर्वाचनमार्फत व्यक्त हुने जनमतअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्।
२३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताइन्। शान्ति भंग गर्ने, अराजकता फैलाउने र कानुन हातमा लिने गतिविधि नियन्त्रणका लागि सुरक्षा संयन्त्र सतर्क र सक्रिय रहेको पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।
समाजमा देखिने गलत गतिविधिविरुद्ध समुदायको सहकार्य आवश्यक रहेको भन्दै उनले शान्ति, स्थायित्व र लोकतन्त्रको रक्षा गर्न सबै मिलेर अघि बढ्न आह्वान गरिन्।