
काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको छ। अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने अन्य पदाधिकारी तथा केन्द्रीय निर्वाचन आयोगका अध्यक्षका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै सोमबार उम्मेदवारी दर्ता कार्यक्रम अघि बढाइएको हो। केन्द्रीय सदस्य र विभिन्न आयोगका पदाधिकारी पदका उम्मेदवारका लागि भने ५ हजार रुपैयाँ शुल्क कायम गरिएको पार्टी स्रोतले जनाएको छ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। दुवै नेताले आफ्ना-आफ्ना प्यानलसहित निर्वाचनमा होमिएका छन्। उपाध्यक्ष, उपमहासचिव र सचिव पदका उम्मेदवारसमेत दुवै पक्षले तय गरिसकेका छन्।
पार्टी विधानअनुसार आगामी कार्यकालका लागि १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। यसपटक सबै पदाधिकारी पदमा निर्वाचन हुने एमालेले स्पष्ट पारेको छ।
निर्वाचन पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ।