दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव तस्करीको गन्ध दिएको छ।
नेपाली नागरिकहरू ‘एनओसी’ (अनिवार्य स्वीकृति) बिना नै कुवेत जान लागेका थिए। दिल्लीस्थित नेपाली दूतावासको सक्रिय समन्वयमा ती महिलालाई विमानस्थलमै रोकी नियन्त्रणमा लिइएको थियो। त्यसपछि स्थलमार्ग हुँदै बिहीबार राति सुनौली नाका पार गरी रूपन्देही पुर्याइएको छ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार महिलाहरूलाई नेपाल भित्र्याएर अहिले काठमाडौं ल्याउने तयारी गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल नेतृत्वको टोलीले घटनालाई नजिकबाट सम्हाल्दै सुरक्षात्मक संयन्त्रमार्फत उनीहरूलाई स्वदेश फर्काएको हो।
यसबीच, गृहमन्त्री रमेश लेखकले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई तुरुन्त छानबिन थाल्न निर्देशन दिएका छन्। दोषीलाई कानूनको दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने मन्त्री लेखकको भनाइ छ। गृहमन्त्रालयका अनुसार वैदेशिक रोजगारीको नाममा भइरहेका यस्ता अवैध गतिविधिलाई नियन्त्रण गर्न सरकार सतर्क भएको छ।















