News Portal

झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

१७४ पटक

काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेटवार्ता तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि भण्डारीले सक्रिय राजनीतिबाट टाढा रहँदै आएकी थिइन्। तर, पछिल्लो समय एमाले राजनीतिमा पुनः सक्रिय हुने संकेत दिँदै आएकी भण्डारी पार्टी कार्यलय पुग्न लागेको हो। जब उनी राष्ट्रपति बनेकी थिइन्, त्यसबेला एमालेको कार्यालय धुम्बाराहीमा थियो। अहिले च्यासलमा रहेको नयाँ पार्टी कार्यालयमा भने उनी पहिलोपटक जाँदैछिन्।

यसअघि केही हप्ता अघि मात्रै भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्, यद्यपि पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन। यता, एमालेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता हाललाई ‘होल्ड’ मा राख्ने निर्णय गरिसकेको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पूर्वराष्ट्रपतिको रूपमा उनले पाउने सुविधा त्यागेर पार्टी राजनीतिमा फर्किन चाहेको भए पनि त्यसको प्रभावबारे थप छलफलपछि मात्रै निर्णय गरिनेछ।

गौतम भन्छन्, “उच्च पदमा पुगेको व्यक्तिको पुनः सक्रिय राजनीतिमा प्रवेशले पार्टी र गणतन्त्रमा के असर पार्छ भन्नेबारे बैठकमा गम्भीर बहस भयो। अध्यक्ष ओलीले समेत अर्को बैठकमा यो विषय पुनः उठाउने बताउनुभएको छ।”

पार्टीभित्र यस विषयमा मतभेद पनि देखिएको छ। एमाले नेता शेरबहादुर तामाङले पूर्वराष्ट्रपतिले पार्टी कार्यालयमा उपस्थित हुनु लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवहारसँग मेल नखाने बताएका छन्। “राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टी कार्यालय पुगेर सदस्यता माग्नु उपयुक्त होइन, यस्तो प्रवृत्तिले गणतन्त्रकै अपमान हुन्छ,” उनले टिप्पणी गरे।

२०७२ साल कात्तिक ११ गते मुलुकको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी भण्डारीको राष्ट्रपतिको कार्यकाल २०७९ साल फागुन २९ मा रामचन्द्र पौडेलले सपथ लिएसँगै टुंगिएको हो।

आजको भेटवार्तापछि भण्डारीको पार्टी सदस्यता तथा राजनीतिमा पुनः औपचारिक प्रवेशबारे एमालेभित्र थप बहस र निर्णयको बाटो खुल्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...