घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनमा कर्मचारी नियुक्ति र सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनी चर्को विवादमा तानिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको जानकारी दिंदै गुप्ताले आफूलाई प्रविधि प्रयोग गरेर नियोजित रूपमा फसाइएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘विगत केही दिनदेखि मेरो नाम अनर्गल घुस प्रकरणमा जोडेर प्रचार गरिएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, अहिले म त्यसैको सिकार बनेँ। सत्य तथ्य छानबिन होस् भनेर मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु।’

गुप्ताले अब पार्टीले दिएको जिम्मेवारी अझ बढी इमानदारीका साथ निर्वाह गर्ने पनि बताएका छन्। उनले घुस काण्डमा सत्य तथ्य सार्वजनिक हुन आफूले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कर्मचारी नियुक्ति र सरुवाका क्रममा भएको भनिएको बार्गेनिङको अडियो बाहिरिएपछि चौतर्फी रूपमा उनीमाथि राजीनामा माग हुँदै आएको थियो। विवाद चुलिएपछि अन्ततः गुप्ताले पदबाट हात झिकेका छन्।

















