News Portal

न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा प्रधानमन्त्रीको फोटो बिगारिएको भनिएको घटना अतिरञ्जित

३७२ पटक

काठमाडौँ असार ११ — अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारिएको भनिएको घटना अतिरञ्जित भएको पाइएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए–आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट लगायतको टोली न्यूयोर्कस्थित कन्सुलेट कार्यालयमा भेटघाटका लागि जाँदा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो सम्मानपूर्वक राखिएको पाइएको थियो।

तर उक्त भेटका केही तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा प्रधानमन्त्री ओलीको फोटोमा उज्यालो परेर “घाम टल्किएको” जस्तो देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरू हुन थाले।

यस विषयमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सामान्य प्राविधिक कारणलाई अतिरञ्जित गरी तिलको पहाड बनाइएको टिप्पणी गरेका छन्।

“लाइटका कारण तानिएका धर्काहरूलाई लिएर मेरो नाम जोडेर अनावश्यक टिकाटिप्पणी भएको देख्दा दुःख लागेको छ। हल्लै हल्लाको देश यही हो जस्तो लाग्छ। नेपालको संविधान र बहुदलीय व्यवस्थामा विश्वास गर्ने कुनै पनि जिम्मेवार व्यक्तिले राष्ट्रपतिज्यू वा प्रधानमन्त्रीज्यूजस्तो सम्माननीय व्यक्तित्वलाई अपमानजनक व्यवहार गर्दैन, गर्नु पनि हुँदैन,” उनले आफ्नो फेसबुकमा लेखेका छन्।

अमेरिकामै बसोबास गर्ने नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापाले पनि घटनालाई अनावश्यक रूपमा नबढाइदिन आग्रह गरेका छन्।

“यहाँ एउटा कुरा बुझ्न जरुरी छ: यस्तो दृश्य प्रायः क्यामेरामा प्रकाश परेपछि देखिने प्रतिबिम्ब (light reflection) का कारण हुनसक्छ। फोटो खिच्दा कोण, प्रकाशको दिशा र फ्रेमको प्रकृतिले असर पार्न सक्छ। यसलाई नियतवश गरिएको आरोप लगाउनु कुनै पनि दृष्टिकोणले न्यायसंगत हुँदैन,” थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले थप लेखेका छन्, “हामी सबै प्राविधिक विज्ञ होइनौं, तर अनुमान गर्न सकिन्छ कि यो प्रविधिसम्बन्धी कमजोरी (जस्तै लाइटिङ, एङ्गल, रिफ्लेक्सन) को परिणाम हो। त्यसैले म कन्सुलेट अफिसलाई ध्यानाकर्षण गराउन चाहन्छु—यदि सम्भव छ भने तस्वीरहरूको पोजिसन, प्रकाशको दिशा र फ्रेमको किसिम हेरेर पुनः व्यवस्थापन गरिए भविष्यमा यस्तो दृश्य देखिन नपर्ला।”

“सामाजिक सञ्जालमा टिप्पणी गर्दा हामी सबै संयमित र सकारात्मक बन्न जरुरी छ। आलोचना आवश्यक पर्दा पनि त्यो तथ्यमा आधारित, शिष्ट र उद्देश्यपरक हुनुपर्छ,” उनले लेखेका छन्।

यस सम्बन्धमा सम्पर्क गर्दा एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले न्यूयोर्कस्थित कन्सुलेट कार्यालयमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा जानाजान बिगारिएको वा फोटोमा छेडछाड गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे।

“एउटा औपचारिक भेटघाटका क्रममा खिचिएको तस्बिरलाई लिएर बिना आधार भ्रम सिर्जना गर्ने गतिविधि नगर्न हामी सञ्चारमाध्यम तथा सम्बन्धित सबैलाई आग्रह गर्दछौं,” प्रवक्ता गौतमले भने।

उनले थपे, “गैर आवासीय नेपाली संघ जहिले पनि सम्माननीय प्रधानमन्त्री तथा नेपाल सरकारसँग नजिक रही काम गर्दै आएको संस्था हो। स्थापना कालदेखि नै एनआरएनए सधैं नेपाल र नेपालीको सम्मान उच्च राख्न क्रियाशील रहँदै आएको छ। एनआरएन नागरिकता, सामाजिक सुरक्षा, एनआरएन लगानीजस्ता विषयमा पनि संघ नेपाल सरकारसँग निकट रही सहकार्य गर्न तत्पर छ। त्यसैले यस्ता कुनै पनि आधारहीन टिप्पणी र समाचारबाट भ्रममा नपर्न हामी सबैलाई आग्रह गर्दछौं।”

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...