‘डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय’

काठमाडौँ, असार १० — बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालजस्ता विकासशील देशका युवाहरूलाई सशक्त बनाउन डिजिटल खाडल अन्त्य गर्न अत्यावश्यक रहेको बताएका छन्।
अमेरिकाको सियाटलमा आयोजित अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्बेसडर ग्लोबल समिट २०२५ मा प्रस्तुति दिंदै, सन् २०२४ मा बेलायत र आयरल्यान्डका लागि शीर्ष एडब्लुएस एम्बेसडर रहेका फुयाँलले भने, “ग्रामीण युवाहरूलाई सूचना प्रविधिसम्बन्धी सीप सिकाइ, कमाउन र नेतृत्व गर्न सक्ने वातावरण बनाउँदा स्थानीय रोजगारी सिर्जना हुनेछ भने वैदेशिक रोजगारीका लागि भइरहेको युवा पलायन पनि घट्नेछ।”
अहिले हरेक दिन झन्डै १,७०० नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार विकास गरी युवाहरूलाई गाउँघरमै सीप सिकाउने आवश्यकता औंल्याए। उनले भोजपुर, सुर्खेतलगायतका जिल्लामा जेनेस सोलुशनले सञ्चालन गरिरहेको तालिम कार्यक्रमहरूको पनि चर्चा गरे।
“हामीले अहिलेसम्म पाँचवटा सामुदायिक टेक ल्याब स्थापना गरिसकेका छौं र क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षामा ३०० भन्दा बढी युवालाई तालिम दिइसकेका छौं। पाँच प्रदेशका १२ जिल्लामा हामी सक्रिय छौं र झन्डै एक दर्जनजति सार्वजनिक–निजी साझेदारहरू हाम्रो अभियानमा सहभागी भइसकेका छन्,” उनले बताए।
तालिम सुरु गर्नु अघि ती जिल्लाका विद्यार्थीहरूले क्लाउड प्रविधि वा कोडिङमा कुनै अनुभव प्राप्त गरेका थिएनन्। “छात्रछात्राहरूले पहिले एडब्लुएस प्रयोग गरेका थिएनन्, टेक ल्याबमा पनि काम गरेका थिएनन्। हामीले २५ जना विद्यार्थीलाई लिएर १० दिने ‘इन्टेन्सिभ क्लाउड बुटक्याम्प’ सञ्चालन गर्यौं,” फुयाँलले भने।
“ती सबै २५ जना सहभागीहरूले सफलतापूर्वक तालिम पूरा गरेका छन् र धेरैजना अहिले जेनेसमा इन्टर्नका रूपमा कार्यरत छन्। स्थानीय विद्यालय र अभिभावकहरूले अहिले यो कार्यक्रम छिमेकी वडाहरूमा पनि विस्तार गरिदिन माग गरिरहेका छन्,” उनले थपे।
“हामी यस्तो भविष्य बनाउने चाहना राख्छौं, जहाँ नेपाली युवाहरूले देशको प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्व गर्न सकून्। हामी नेपालको युवाशक्ति नै भविष्यको टेक इकोनोमीको इञ्जिन बन्ने परिकल्पना गर्छौं,” फुयाँलले भने। साथै उनले विश्व प्रविधि समुदायलाई नेपालमा युवा सशक्तीकरणका लागि जगदेखि नै सहकार्य गर्न आह्वान गरे।
जेनेस सोलुशन हाल बेलायत, नेपाल, बंगलादेश, नाइजेरिया लगायत १० देशमा क्रियाशील छ र सार्वजनिक तथा निजी क्षेत्रका लागि डिजिटल रूपान्तरण, क्लाउड तथा साइबर सुरक्षासम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।
















