News Portal

सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

२६६ पटक

धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको भुक्तानीलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीच तीव्र वादविवाद भएको छ। सहरमा विपद्को बेलामा गरिएको कामको भुक्तानी प्रक्रिया नै अहिले विवादको जड बनेको छ।

धरान १६ स्थित सर्दुखोलाको कटान रोकथामका लागि गरिएको कामको खर्च भुक्तानी माग गर्दै मेयर पक्षधरहरूले १५ जनाको डोर हाजिरीमार्फत १ लाख ४८ हजार रुपैयाँ माग गरेका छन्। उनीहरूका अनुसार यो काम श्रमदानमार्फत गरीएको हो र कुल १७ लाख ४० हजार रुपैयाँ बराबरको लागत परेको दाबी गरिएको छ। सोहीमध्ये ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले मात्रै ९ लाख ९८ हजार बराबर श्रमदान गरीएको र बाँकी ७ लाख ४१ हजार रुपैयाँ नगरपालिकाबाट भुक्तानी माग गरिएको छ।

तर यो मामिलामा उपमेयर बेघा भने असहमत छन्। उनले श्रमदानका नाममा डोर हाजिरीमार्फत भुक्तानी अस्वाभाविक भएको जिकिर गर्दै कामको अनुगमन नगरेसम्म भुक्तानी गर्न नमिल्ने अडान लिएका छन्।

विवादको सुरुवात सोमबार भएको थियो। मेयर साम्पाङले उपमेयर बेघालाई छलफलका लागि बोलाएपछि बेघा समर्थकमाथि साम्पाङ पक्षधरहरूले हातपात गर्न खोजेको आरोप छ। यसपछि मंगलबार बेघा पक्षधरहरू नगरपालिकाको कार्यालय परिसरमा जम्मा भई मेयर समूहविरुद्ध आक्रोश पोख्न थालेका छन्।

उपमेयर बेघाले भने, ‘हिजो छलफलका लागि बोलाउनु भएको थियो, तर त्यो छलफलको नाममा बाहिर श्रमदाता जम्मा गरेर हातपात गर्ने योजना बनाइएको रहेछ।’ उनले कामको अनुगमन नगरी भुक्तानी गर्न नमिल्ने स्पष्ट पारे। बेघाका अनुसार श्रमदानका नाममा डोर हाजिरीको भुक्तानी मागिनु आफैँमा गलत अभ्यास हो।

तर मेयर साम्पाङले भने उपमेयरले अनुगमन गरी प्रतिवेदन आफैं राखेको दाबी गरेका छन्। साम्पाङले विपद्को समयमा तत्कालै काम गर्नुपर्ने र पछि मूल्याङ्कन गरेर भुक्तानी दिने प्रचलन रहेको बताएका छन्। उनले भने, ‘बस्ती डुबानको खतरा रहँदा पहिलो काम बस्ती जोगाउनु हो। प्रक्रिया पछि पूरा गरिन्छ। तर यहाँ उल्टै सहयोग गर्नुपर्ने उपमेयर नै अवरोधक बनेर उभिनु दुर्भाग्यपूर्ण छ।’

धरानमा यसअघि पनि मेयर र उपमेयरबीच विभिन्न विषयमा वादविवाद हुँदै आएको थियो। सर्दुखोला नियन्त्रण कार्यलाई लिएर फेरि दुवै पक्ष आमनेसामने भएपछि स्थानीय राजनीतिमा थप तनाव सिर्जना भएको छ। अहिले सामाजिक सञ्जालमा पनि दुबै पक्षका समर्थकहरू आ-आफ्नो नेताको पक्षमा एकअर्कालाई दोषारोपण गरिरहेका छन्।

धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईका अनुसार उपभोक्ता समितिमार्फत गरिएको कामको भुक्तानीका लागि कागजातहरू आइनसकेको र प्रक्रिया पूरा नभएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...