सिर्जनामा रमाऊँ !
– पारसनाथ आचार्य
कुसुमसरि फुलाऊँ भव्य पारूँ बगान
मन र मगजबाटै दूर जाऊन् थकान
सविनय पिरतीको प्रेमगाथा म गाउँ
रसमय कविताको सिर्जनामा रमाऊँ
सुललित लय मीठा काव्यमा पोख्न पाऊँ
तनमन कवितामै प्रेम साथै सजाऊँ
कलकल सरिता झैँ भावगंगा बगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ
कवि तन मनबाटै काव्य लेखौं रमाई
मधुमय लत बस्ने भव्य राम्रो बनाई
रहर छ दिलबाटै चेत नौलो जगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ
अभिनय हुन जाओस् सिर्जनाले विचित्र
असल सबल राम्रो प्राण देखूँ सचित्र
सुमधुर रस वाणीबाट चिन्ता भगाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ
तुष कसर पखालौ भेद सारा नराम्रो
प्रमुदित मन भित्री दिव्य संस्कार हाम्रो
मृदुल हृदयबाटै पाप सारा हटाऊँ
रसमय कविताको सिर्जनामा रमाऊँ।।
इन्द्रावती – ५, सिन्धुपाल्चोक
हाल : साइप्रस










