आज : २०२६-०८-११, मङ्गलबार

केआईआईटी कलेजले नेपाली विद्यार्थीप्रति दुर्व्यवहारको घटनामा माफी मागे

फाल्गुन ६, भारत – ओडिसामा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीप्रति गरेको दुर्व्यवहार र रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि माफी मागेको छ। कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गर्दै उक्त घटनामा दुख व्यक्त गर्दै नेपाली विद्यार्थीप्रति गरेको असमर्थ र गैरजिम्मेवार व्यवहारको लागि माफी मागेका छन्।

उपकुलपतिले भने, “हामी नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र कलेजका कर्मचारीहरूको अनुचित व्यवहारप्रति गहिरो दुःख व्यक्त गर्दै माफी चाहन्छौं। हामी सबै विद्यार्थीलाई समान माया र सम्मान गर्छौं, चाहे ती भारतका हुन् वा नेपालका।”

साथै, कलेजले नेपाली विद्यार्थीलाई कक्षामा सहभागी हुनको लागि अनुरोध गरेको छ। कलेजले नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट निकाल्ने काममा संलग्न १४०० विद्यार्थीहरूको अपमानजनक टिप्पणी गर्ने कर्मचारीहरूलाई कारबाही गरेको पनि जानकारी दिएको छ।

यसअघि, कलेजले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई सुरक्षाकर्मीलाई बर्खास्त गर्दै दुई वार्डेन र एक प्रशासनिक अधिकारीलाई निलम्बन गरेको थियो। कलेजले यस घटनामा थप अनुसन्धान गर्दै छ र नेपाली विद्यार्थीहरूको क्याम्पसमा सुरक्षित पुनःआवागमनको लागि कन्ट्रोल रुम सञ्चालन गरेको पनि जनाएको छ।