News Portal

ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु, परिवारले उच्चस्तरीय छानबिनको माग

ओडिसामा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु पछि परिवारले उच्चस्तरीय छानबिनको माग गरेका छन्।

संगीता गुरुङ
३३८ पटक

बुटवल, ६ फागुन – भारतको ओडिसामा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाले सिंगो भैरहवा शोकमा डुबेको छ। ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति आइतबार साँझ होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।

मृत्युअघि मात्र २० मिनेटअघि उनले काठमाडौंमा रहेकी आमा सरितासँग कन्सर्टमा गएको खुसी साट्दै कुराकानी गरेकी थिइन्। उक्त कुराकानीपछि अचानक आएको मृत्युको खबरले परिवारमा शोकको छाया छाएको छ। उनकी आमा सरिता बेहोस भएकी छन् भने बुबा सुनिल घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

प्रकृतिका मामा शिव पोखरेलले घटनामा सहपाठी एडविक श्रीवास्तवको संलग्नता रहेको आशंका गरेका छन्। उनका अनुसार, श्रीवास्तवले मानसिक तनाव (ह्यारेसमेन्ट) दिएको कारणले नै घटनाको रूप लिएको हुनसक्छ। उनले सरकारले विज्ञप्ति मात्र निकालेर नपुग्ने भन्दै उच्चस्तरीय छानबिन गरी दोषीलाई कडा सजायको माग गरेका छन्।

प्रकृतिको मृत्युपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूमाथि पनि विश्वविद्यालय प्रशासनले अपमानजनक व्यवहार गरेको आरोप लागेको छ। विश्वविद्यालयका केही व्यक्तिले “नेपाली विद्यार्थीहरू भारतमा निःशुल्क पढिरहेका छन्” भन्दै तिरस्कारपूर्ण टिप्पणी गरेको पोखरेलले बताएका छन्।

घटनापछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिहरूसँग छलफल गरी नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। दूतावासको पहलमा विश्वविद्यालयले विद्यार्थीहरूलाई पुनः होस्टलमा फर्कन अनुमति दिएको छ।

भारतीय प्रहरीले एडविक श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। जानकारी अनुसार, यसअघि पनि प्रकृतिले श्रीवास्तवविरुद्ध विश्वविद्यालयमा उजुरी गरेकी थिइन्, तर प्रशासनले बेवास्ता गरेको आरोप छ।

प्रकृतिको मृत्युपछि भैरहवामा शोकको वातावरण छाएको छ। नेपाली विद्यार्थीहरूले काठमाडौको लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले मृतक परिवारलाई न्याय दिलाउन र दोषीलाई कडा सजायको माग गरेका छन्।

घटनाले नेपाल–भारतबीचको शैक्षिक सम्बन्धमा असर पार्ने देखिएको छ। मृतक परिवारले दोषीलाई कानूनी कठघरामा ल्याई न्याय दिलाउन नेपाल सरकारसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...