News Portal

नेपाल चेम्बर एक्स्पो २०८१: स्वदेशी उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तारको लक्ष्य

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औं संस्करणको नेपाल चेम्बर एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ।

संगीता गुरुङ
२५२ पटक

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औं संस्करणको नेपाल चेम्बर एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। यो एक्स्पो पाँच दिनसम्म सञ्चालन हुने छ र स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय व्यापार विस्तारमा योगदान पुर्याउने लक्ष्य राखिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार, एक्स्पोको मुख्य उद्देश्य नेपाली उद्यमी, उत्पादक, व्यवसायी र उपभोक्ताबीच पुलको रूपमा काम गर्नु हो, जसले आर्थिक गतिविधिलाई गतिशील बनाउन, नयाँ ब्रान्ड तथा उत्पादनलाई प्रवर्द्धन गर्न र बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्र अहिले व्यापार, व्यवसाय र दैनिक जीवनको महत्त्वपूर्ण अंग बनिसकेको बताएका छन्। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल चेम्बर एक्स्पो २०८१ को उद्घाटन गर्दै उनले नेपालले आईटी क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरताका कारण केही समय विकास निर्माणको गति सुस्त भए पनि अहिले अर्थतन्त्र, उद्योग, व्यापार, उत्पादन र निर्यातलाई पुनः सन्तुलित बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “अब आईटी सेक्टर चर्चाको मात्र विषय होइन, यो हाम्रो व्यवसाय र दैनिक जीवनको अभिन्न तथा महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। नेपाल तीव्र गतिमा अगाडि बढ्न चाहन्छ, र यसको लागि सबै क्षेत्रले योगदान दिनु आवश्यक छ।”

कार्यक्रमका सञ्चालक राष्ट्रभूषण चकुबजी एक्स्पोको उद्देश्य बारे जानकारी दिँदै भने, “नेपालको आर्थिक तथा औद्योगिक विकासका लागि एक्स्पोले सकारात्मक योगदान गर्नेमा हामी विश्वस्त छौं।” यस वर्ष, एक्स्पोमा सूचना र प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ, जसले प्रविधिको प्रवर्द्धन गर्दै आर्थिक विकासलाई तीव्र गति दिने विश्वास गरिएको छ।

एक्स्पोमा १२५ भन्दा बढी स्टल रहनेछन्, जसमा नेपाली उत्पादनलाई प्राथमिकता दिँदै कृषि, हस्तकला, टेक्सटाइल, सूचना प्रविधि, अटोमोबाइल र उपभोक्ताको सामग्रीहरू प्रदर्शन गरिने छन्। साथै, बंगलादेश, भारत, चीन, दक्षिण कोरिया, मलेसिया र पाकिस्तान लगायतका देशका उत्पादनहरू पनि समावेश गरिने छन्। आयोजकका अनुसार, विदेशी प्रविधिसँगको सहकार्य र प्रतिस्पर्धाले नेपाली उद्योगलाई थप सशक्त बनाउन मद्दत गर्नेछ।

नेपाल चेम्बर अफ कमर्सका सदस्य र वन, कृषि तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठका अनुसार, एक्स्पोको मुख्य उद्देश्य राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने सेतुको रूपमा काम गर्नु हो। श्रेष्ठले भने, “नेपाल चेम्बर अफ कमर्स ८५औं वर्षमा प्रवेश गरेको छ र यस अवसरमा ८औं संस्करणको चेम्बर एक्स्पो आयोजना गर्न पाउँदा हामी गौरवान्वित छौं।”

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि चन्द्र थापाले पनि एक्स्पोको महत्त्वबारे बताउँदै भने, “यो एक्स्पोले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने र व्यवसायलाई विस्तार गर्ने अवसर प्रदान गरेको छ।” उनका अनुसार, विभिन्न देशका उत्पादकहरूले यहाँ सहभागी भई नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न मद्दत पुर्याउने छन्। कैलालीको मह उत्पादकले पनि एक्स्पोमा आफ्नो उत्पादनको प्रदर्शन गरिरहेका छन्। यस्ता एक्स्पोहरूले उत्पादनकर्ता, व्यवसायी र उपभोक्ताबीचको सम्बन्धलाई सुदृढ पार्ने तथा नेपाली उत्पादनको माग बढाउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...