मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिँदा करोडौँ कमिसन खाएको आरोप लगाएका थिए।
उनको आरोपपछि पार्टीले स्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो। तर उनले सामाजिक सञ्जाल एक्समार्फत माफी मागेका हुन्।
‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ उनले भनेका छन्, ‘मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु।’
बजगाईँले आरोप लगाएपछि मन्त्री पाण्डेले उनीविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका थिए।
रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप बजगाईँको आरोप थियो।


















