कुवेतमा घरेलु कामदार नेपाली महिलाको ठूलो मन : विपत्तिमा देशलाई ३ लाख ५४ हजार सहयोग

कुवेत – देश विपत्तिमा परेका बेला विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र सहयोगको भावना देखाउँदै कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला दिदीबहिनीहरूले राहतका लागि आर्थिक सहयोग गरेका छन्।
उहाँहरूको सहयोग गर्ने चाहनालाई समेट्दै विशाल डल्लाकोटी तथा केही सामाजिक अभियन्ताहरूको समन्वयमा कुवेतमा रहेका नेपाली घरेलु कामदार दिदीबहिनीहरूबाट रकम संकलन गरिएको हो। संकलित ७१७ केडी, अर्थात् तत्कालीन विनिमय दरअनुसार रु. ३ लाख ५४ हजार २ सय ४९, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।
आफ्नै बैंक खाता नभएको वा नेपालमा रकम पठाउन सहज अवस्था नरहेको अवस्थामा पनि विपत्तिमा परेका नेपालीका लागि आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावनाले उक्त रकम संकलन गरिएको हो।
कुवेती नागरिकका घरमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली चेलीबेटीहरूले आफ्नो सीमित आम्दानीबाट समेत देशका लागि सहयोग गर्ने इच्छा देखाउनु उदाहरणीय भएको अभियन्ताहरूले बताएका छन्।
यस अभियानमा सहयोग तथा समन्वय गर्ने विशाल डल्लाकोटी लगायत सामाजिक अभियन्ताहरू र आर्थिक सहयोग गर्ने सम्पूर्ण नेपाली दिदीबहिनीप्रति धन्यवाद व्यक्त गरिएको छ।
विदेशमा रहेर पनि देशमा आइपरेको विपत्तिमा आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्ने नेपालीहरूको यो प्रयासले आपसी एकता, सद्भाव र मातृभूमिप्रतिको जिम्मेवारीलाई समेत उजागर गरेको छ।

















