News Portal

बैङलोरदेखि दुबईसम्म एआईजीको पैसा

हिमालीसंचार संवाददाता
३२७ पटक

काठमाण्डौ। अनेकौं अनियमितता र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको विभिन्न कम्पनीमा करोडौं लगानी रहेको तथ्य भेटिएको छ।

रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र समानान्तर सत्ता चलाएका ज्ञवालीको नेपालका विभिन्न कम्पनीदेखि दुबई र भारतको बैङलोरसम्म लगानी रहेको पाइएको हो।

स्रोतका अनुसार ज्ञवालीले दुबईस्थित एमएस ट्रेडर्स नामक कम्पनी सञ्चालन गर्ने महेन्द्र सिंहमार्फत करोडौं लगानी गरेका छन्। भारतको बैङ्गलोर स्थायी घर भएका महेन्द्र दुबई बस्छन्। उनी सुन तस्करी, क्रिप्टोलगायत विवादित व्यवसायका टाइकुन हुन्।

ज्ञवालीका अर्को व्यापारिक साझेदार हुन् हाईड्रो व्यवसायी बटु लामिछाने। लामिछानेको लगानी रहेको अधिकांश व्यवसायमा ज्ञवालीको साझेदारी रहेको स्रोतको भनाइ छ।

लामिछाने नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको ऊर्जा समितिका संयोजक र प्रवद्र्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष हुन्।

लामिछानेमार्फत ज्ञवालीले सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५ मेगावाटको लान्द्रुक मोदी जलविद्युत्मा करोडौं लगानी गरेका छन्।

यसैगरी भक्तपुरका व्यापारी श्रीभक्त कासिछवासँग पनि ज्ञवाली र उनका दाजु पूर्व आइजिपी ठाकुर ज्ञवालीको लगानी रहेको छ। नागरिक अस्पताल, योयो पार्टी प्यालेस, ड्रइभिङ सेन्टरमा उनीहरूको संयुक्त लगानी रहेको अर्को तथ्य पनि भेटिन्छ।

यसैगरी सूर्य नेपालका कर्मचारी तथा विभिन्न रक्सी कम्पनीका मालिक रवि केसीको नाममा रहेको चण्डिका डिष्टिलरी र यति डिष्टिलरीमा पनि ज्ञवाली दाजुभाइकै लगानी रहेको बताइन्छ।

कारबाही सिफारिस भएकालाई पुरस्कार

नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार बनेलगत्तै प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुरले ज्ञवालीमाथि छानबिनका लागि समिति बनाएका थिए। एआइजी ज्ञवालीमाथि छानबिनका लागि आइजिपी कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका थिए।

समितिले सुन तस्करीका आरोपी जीवन चलाउनेसँग पटक पटक संवाद गरेको, दुबई गएर पटक पटक सुन तस्कर टोलीसँग साँठसाँठ गरेको, एलओडीका सञ्चालक राजु सिंह सुवाल र रुदिपबल्ल श्रेष्ठसँग बालबालिकासम्बन्धी मुद्दामा मिलेमतो गरेको लगायतका दर्जन तथ्यसहित कारबाहीका लागि सिफारिस गरेको थियो।

तर उनै आइजिपी कुँवरले २५ भदौ २०८१ मा भव्य बिदाई गरे। अवकाशअगावै कारबाहीका लागि सिफारिस भए पनि आइजिपीले मायाको चिनो टक्र्याएर सलामी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई मुछेर जेल हाल्ने योजना बनाएको तथ्य यसअघि नै सार्वजनिक भएको छ।

नक्कली शरणार्थी प्रकरणमा ५८ औं दिन लामो अनुसन्धान सकेर प्रहरीले ८ जेठ २०८० मा सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझायो।

प्रहरीले तयार पारेको प्रतिवेदन सरकारी वकिलले खोल्न नपाउँदै सबैजसो सञ्चारमाध्यमले प्रतिवेदनका बयानका अंश प्रकाशन गरिसकेका थिए। जबकि प्रहरीले बुझाएको प्रतिवेदन यसरी सार्वजनिक गर्न मिल्दैन।

उनले रानीपोखरीस्थित कार्यालयमा सरकारको मिडिया परिचालनको अनौपचारिक संयन्त्रबाट यो योजनाबद्ध रूपमा वितरण गरेका थिए। त्यसबेलाका प्रत्यक्षदर्शी एक प्रहरी एसपीका अनुसार उनले सम्पादकहरूलाई बोलाएर पेन ड्राइभमा दिएका थिए।
(साभार – जनआस्था साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...