News Portal

अल्पमतमा प्रधानमन्त्री प्रचण्ड, एमालेका मन्त्रीहरुले बुझाए राजिनामा

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्।

बुधबार प्रधानमन्त्रीलाई भेटेर एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। साथै, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि एमालेले औपचारिकरूपमा जानकारी गराएको छ।

गत सोमबार मध्य राति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता सहयात्राबारे सहमति गरेको एमालेले मंगलबार राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो। यसका लागि उसले २४ घण्टाको समय दिएको थियो।

एमाले नेताहरूका शब्दमा, सम्मानजनक बहिर्गमनका लागि प्रधानमन्त्रीलाई यो समय उपलब्ध गराइएको थियो। तर, उक्त अवधिभित्र प्रधानमन्त्रीले राजीनामा नबुझाएपछि बुधबार एमालेका मन्त्रीहरू आफैँ पुगेर राजीनामा दिएका हुन्।

एमालेका ७८ सांसदको समर्थनसहित २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। यो समीकरण भने गत फागुन २१ गते मात्र बनेको थियो।

सुरूमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपतिको चुनावमा कांग्रेससँग मिल्न पुगेका थिए। गत फागुनमा कांग्रेसको साथ छाडेर उनी एमालेतिर मिलेका थिए।

अहिले एमाले र कांग्रेस एकातिर हुँदा प्रचण्ड स्पष्टरूपमा अल्पमतमा परेका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले एमालेसँग सत्ता साझेदारी गर्ने सहमति अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न भनिसकेको छ।

कांग्रेस र एमालेले सरकार छाड्न भनिसके पनि प्रचण्ड भने संसदबाट विश्वासको मत लिने भनिरहेका छन्। मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले संविधानले दिएको ३० दिनको सुविधा उपयोग गर्दै विश्वासको मत लिने बताएका थिए।

यदि उनले फेरि विश्वासको मत लिएमा यो पाँचौँपटक हुनेछ। प्रचण्डले यसअघि चार पटकसम्म विश्वासको मत लिइसकेका छन्।

०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपटक ०७९ पुस २६ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला २ सय ७० सांसद उपस्थित हुँदा प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए।

त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि उनले दोस्रोपटक ०७९ चैत ६ गते विश्वासको मत लिए।

त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाए। त्यसबेला संसद्‌मा २ सय ६२ सांसद उपस्थित थिए। त्यसपछि उनले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए।

चौथोपटक गत जेठ ७ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदको समर्थन प्राप्त गरेका थिए। यदि उनी फेरि पनि सरकार टिकाउने प्रयासमा लागे अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

सत्ता सहयात्री दलले सरकारको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। कांग्रेस र एमालेले भने प्रचण्डले केही दिनमै राजीनामा दिने विश्वास लिएका छन्।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...